Skip to main content

दिल्लीको चारतले भवन भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ

१७ जेठ, काठमाडौं । दिल्लीको वेलकम क्षेत्रमा अवस्थित एउटा चारतले भवन भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ। एक वर्षीय बालकसहित आठ जना घाइते भएका छन्। उक्त भवनमा १० जनाको परिवार बसोबास गर्दै आएको थियो। एक अधिकारीका अनुसार बिहान ७ बजे सीलमपुरको ईदगाह रोड नजिकै जनता कोलोनीको गल्ली नम्बर ५ मा भवन भत्किएको हो। भवन भत्किंदा स्थानीय मानिसहरू बिहानको पैदल यात्रा (मर्निङ वाक) मा निस्किएका थिए। ती मानिसहरूले सर्वप्रथम उद्धार कार्य सुरु गरेका थिए। दमकल टोली घटनास्थलमा पुग्नु अघि नै भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउने प्रयास सुरु भइसकेको थियो। भारतीय मिडियाका अनुसार उद्धार कार्य अझै जारी रहेका छन्। उत्तर–पूर्वी दिल्लीका अतिरिक्त डीसीपी सन्दीप लाम्बाका अनुसार उद्धार कार्यमा प्रहरी, एनडीआरएफ, सिभिल डिफेन्स र स्थानीय नागरिकहरू सक्रिय छन्। सरकारी अधिकारीहरूले भनेका छन् कि स्थानीयहरूले उद्धार कार्यमा ठूलो सहयोग पुर्‍याएका छन्। तीन महिनाअघि दिल्लीकै मुस्तफाबाद क्षेत्रमा भवन भत्किंदा ११ जनाको मृत्यु भएको थियो।