Skip to main content

‘नेपालले पनि भारतको भूभाग मिचेको’ प्रधानमन्त्री बालेन्द्र शाहको भनाइले विवाद निम्त्यायो

प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को “नेपालले पनि भारतको भूभाग मिचेको रहेछ” भन्ने भनाइप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै नेपाल र भारतबीचको सीमा विवादबारे कुरा गरेका थिए। नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिम्पियाधुरा र लिपुलेकसम्बन्धी प्रश्न सोधेकी थिइन्। उनले प्रश्न गरेकी थिइन्, “भारत र चीनबीच द्विपक्षीय समझदारीबाट व्यापारिक मार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको अवस्थामा नेपाल सरकारको धारणा के छ?” प्रधानमन्त्रीले लिपुलेक र लिम्पियाधुरा सम्बन्धी बुझ्न खोजेको जस्तो देखिएपछि जवाफ दिएका थिए। नेपाल सरकारले यसबारे कूटनीतिक नोट भारत सरकारलाई पठाइसकेको र जवाफ पनि आएको उनको भनाइ छ। “जवाफमा दुई सरकारले इतिहासविद्, नापी विज्ञहरू र भू-सम्बन्धी विशेषज्ञहरूलाई राखेर वार्ताद्वारा समाधान गर्ने सहमति गरेका छन्,” प्रधानमन्त्रीले भने। “यसबारे हामीले भारत र चीनसँग मात्र होइन ब्रिटेन सरकारसँग पनि कुरा गरेका छौं किनभने ब्रिटिश भारत छाड्दा समस्या छ, त्यसैले ब्रिटेनले पनि सम्बद्ध हुनु पर्ने हाम्रो मान्यता हो। सबै कुरा वार्ता र कूटनीति मार्फत समाधान हुने जानकारी दिन चाहन्छु।”

प्रधानमन्त्रीको भनाइ ‘आपत्तिजनक’ श्रम संस्कृति पार्टीका आरेन राईले कालापानी लिम्पियाधुराको समस्या लामो समयदेखि रहेको र अन्य क्षेत्रहरूमा पनि समस्या रहेको भन्दै प्रश्न उठाएका थिए। उनको प्रश्न थियो कि ती सीमाका नागरिकले कहिले सरकारले भएको महसुस गर्न पाउने हो? यस विषयमा पहिले पनि जवाफ दिइसकिएको भन्दै प्रधानमन्त्रीले भने, “तपाईंहरूलाई अचम्म लाग्ला, मैले पनि प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ कि भारतले मात्रै होइन, नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा भर्खरै थाहा पाएँ त्यसैले दुवै देशले अध्ययन गरेर पत्ता लगाएका छौँ, दुवै पक्षले मिचेका छन् भन्ने तथ्य देखिन्छ। हामी यो विषयलाई साथीको रूपमा बसेर समाधान गर्ने सोच राखेका छौँ।”

प्रधानमन्त्रीले अचानक प्रतिनिधि सभाको बैठकमा गएर सांसदहरूको प्रश्नको जवाफ दिएका हुन्। सुरुमा विपक्षी सांसदहरूले प्रश्नको जवाफ दिने प्रस्ताव संसदको नियमावली विपरीत रहेको भन्दै आपत्ति जनाएका थिए। प्रश्नोत्तर समाप्त भएपछि प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिने क्रममा विपक्षी सांसदहरूले जवाफ दिने प्रक्रिया र केही जवाफप्रति असहमति जनाए। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले दिएको जवाफलाई लिएर भनिन्, “यदि नेपालले पनि भारतको भूमि मिचेको हो भने त्यो कुन भूभाग हो छिटो जानकारी गराउनुपर्छ। यो संवेदनशील विषय हो र आपत्तिजनक पनि। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमा विवादमा बोलेको कुरा सही होइन, त्यसलाई संसदको अभिलेखबाट हटाउनुपर्छ।”

नेकपा का सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको जवाफ सामान्य विषय नभएको बताए। उनले भने, “यो विषय अत्यन्त गम्भीर छ। अन्य मुलुकका सरकार र राष्ट्रप्रमुखहरूले हामीले कहिल्यै भूभाग मिचेको भन्ने कुरा गर्दैनन्। यो संसदले ठिक पार्नुपर्छ र अभिलेखबाट हटाउनुपर्छ।”