
बागलुङको तमानखोला गाउँपालिकाका महिलाहरू ढाकाका कपडा बुनी मासिक रुपमा ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आत्मनिर्भर हुँदैछन्। गाउँपालिकाले महिलाहरूलाई उद्यमी बनाउनका लागि भवन, प्रशिक्षण र आवश्यक सामग्रीमा हालसम्म २५ लाख रुपैयाँ लगानी गरिसकेको छ। उत्पादित ढाकाका कपडाहरू गाउँपालिकाले खरिद गरी बजार व्यवस्था प्रशस्त गराएपछि स्थानीय महिलाहरू उत्साहित भएका छन्। १७ जेठ, गलकोट (बागलुङ)।
जिल्लाको तमान गाउँकी जमुना घर्ती ढाकाका कपडा बुन्दै व्यस्त छिन्। तमानखोला गाउँपालिका–३ मा रहेको महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि उनी ढाकाको अस्कोट बुन्दै आइरहेकी छन्। त्यस्तै यहाँ १५ जना महिला हरेक दिन विभिन्न प्रकारका ढाकाका कपडा बुन्दै आएका छन्। ढाका उद्योगमार्फत आत्मनिर्भरता हासिल गर्न तमानखोला गाउँपालिकाले महिलाहरूलाई उद्यमी बनाउन र उत्पादन खरिद गर्न समेत सहयोग गर्दै आएको छ।
ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट बुनी बिक्री गर्ने क्रममा यहाँका महिलाहरू आत्मनिर्भर हुँदै आएका छन्। महिलाहरूले उत्पादन गरेका कपडालाई गाउँपालिकाले खरिद गरी बिक्रीमा सहयोग गरिरहेको छ भनी घर्तीले बताइन्। करिब सात वर्षअघि म्याग्दीबाट आएका प्रशिक्षकसँग सिकेर गाउँकी महिलाहरूले सीप प्राप्त गरेर समूहमा आबद्ध हुँदै व्यवसायिक रूपमा अगाडि बढ्न गाउँपालिकाले लगानी गरेको हो।
महिलालाई व्यावसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिका सात वर्षदेखि तालिम दिने, सामग्री उपलब्ध गराउने, भवन निर्माण गर्ने, उत्पादन खरिद गरी बिक्रीमा सहजीकरण गर्ने कार्यक्रमहरू निरन्तर गर्दै आएको छ। “गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममा महिलाले बनाई दिएका सल र गलबन्दीलाई माया र सम्मानको प्रतीकका रूपमा प्रयोग गर्दै आएका छौं। ज्येष्ठ नागरिक सम्मान कार्यक्रमहरूमा पनि टोपी, गलबन्दी र अस्कोट महिला उत्पादित सामग्रीको बजार व्यवस्थापन गरिरहेका छौं,” गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताइन।
गाउँपालिकाले सात वर्षअघि महिलालाई सीपमूलक तालिम, आवश्यक सामग्री उपलब्ध गराउन र भवन निर्माण समेतमा सहयोग गरेको छ भन्दै उपाध्यक्ष छन्त्यालले जानकारी दिइन्। अहिलेसम्म सामग्री, भवन र तालिमका लागि पालिकाले २५ लाख रुपैयाँसम्म लगानी गरिसकेको छ। यहाँका महिलाबाट मासिक ५० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ भनी उनले जानकारी गराइन। सुरुवातमा उत्पादन बिक्रीमा कठिनाइ भए तापनि पछिल्लो समय पालिकाले खरिद गर्दै गएको कारण महिलाहरू उत्साहित भएका छन्। महिला कल्याण आमा समूहकी कोषाध्यक्ष घर्तीले सरकारको सहयोगले तमानखोला गाउँकी महिलाहरू उद्यमी र आत्मनिर्भर बन्ने दिशा तर्फ अग्रसर भएको धारणा राखिन्।






