Skip to main content

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ६ सीमाविद्हरूको खेद व्यक्त – क्षमायाचना आवश्यक

प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति सीमाविद्हरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर खेद व्यक्त गरेका छन्। सीमाविद्हरूले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्तिको आधारबारे स्पष्टिकरण दिन र क्षमायाचना गर्न आग्रह गरेका छन्। यसै सन्दर्भमा, सो अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुख समक्ष माग गरिएको छ। १७ जेठ, काठमाडौं।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डा. पीताम्बर शर्मा, प्राध्यापक डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुङ्गेलले संयुक्त रूपमा खेदको विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई आश्चर्यमा पार्ने उल्लेख गरेका छन्। उनीहरूले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्तिको आधारबारे स्पष्ट पार्न अनुरोध गरेका छन्।

‘आजसम्म नेपालले भारतको सीमा मिचेको भन्ने कुरा कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन। यस्तो अभिव्यक्ती पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाटै आएको हो,’ विज्ञप्तिमा भनिएको छ। ‘प्रधानमन्त्रीले कुन प्रमाणका आधारमा यो धारणा व्यक्त गर्नुभएको हो भन्ने विषयमा स्पष्ट जानकारी आवश्यक छ।’

विज्ञप्तिमा नेपाल–भारत संयुक्त सीमा आयोगले आफ्नो ९८ प्रतिशतभन्दा बढी काम पूरा गरिसकेको तर सो आयोग वा कुनै अन्य आधिकारिक निकायले नेपालले भारतको सीमा अतिक्रमण गरेको निष्कर्ष सार्वजनिक नगरेको उल्लेख छ। ‘राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील तथा राष्ट्रिय महत्वका विषय हुन्। यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा मात्र कुरा हुनुपर्छ,’ उनीहरूले भनेका छन्।

‘यसले उत्पन्न गरेको भ्रम हटाउन प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा स्पष्टीकरण दिनु र अभिव्यक्तिप्रति क्षमायाचनासमेत गर्नु आवश्यक छ, हाम्रो धारणा हो,’ उनीहरूले थप बताएका छन्।