Skip to main content

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धमा छलफल

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच मन्त्रालयमा द्विपक्षीय सम्बन्ध र सूचना प्रविधिबारे भेटवार्ता भएको छ। अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपालमा लगानी विस्तार गर्न अमेरिकी कम्पनीहरू इच्छुक रहेको बताउँदै नीतिगत स्थिरता र सहजीकरणको अपेक्षा व्यक्त गरिन्। १८ जेठ, काठमाडौं।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारजस्ता विषयमा छलफल भएको छ। अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिकाले इच्छुकता देखाएको बताइन्। उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी बढाउन चाहने भएकाले त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र आवश्यक सहजीकरणको अपेक्षा रहेको धारणा व्यक्त गरिन्।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने सबै प्रकारका द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले स्वागत गर्ने बताए। उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवेश गराउने विषय सरकारले प्राथमिकतामा राखेको र दूरसञ्चार क्षेत्रमा लगानीका लागि हाल कायम नीतिगत तथा कानूनी व्यवस्थाबारे पनि जानकारी गराए।