इरानले अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता स्थगित गर्ने घोषणा गर्यो

१८ जेठ, काठमाडौँ । इरानले मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता स्थगित गरिएको घोषणा गरेको छ। इरानी सरकारी समाचार एजेन्सीको उद्धरणसहित बीबीसीले उक्त समाचार प्रकाशन गरेको छ। इरानले युद्धविराम सम्झौताको एक पक्ष लेबनान रहेको उल्लेख गर्दै लेबनानसहित सबै मोर्चामा युद्धविराम उल्लंघन भएको दाबी गरेको छ। त्यसै कारण इरानले वार्ता टोलीलाई अप्रत्यक्ष वार्ता रोक्ने निर्णय गरेको जनाइएको छ।
इरानले अब लेबनान र गाजामा इजरायली आक्रमण तत्काल रोकिनुपर्ने र लेबनानमा कब्जा गरिएको क्षेत्र पूर्ण रुपले खाली नभएसम्म वार्ता नहुने बताएको छ। इरानको सैन्य तथा सुरक्षा निकायसँग नजिक रहेको समाचार एजेन्सीका अनुसार रेजिस्टेन्ट फ्रन्ट र इरानले होर्मुज स्ट्रेट पूर्ण रुपले बन्द गर्ने र बोब अल–मन्डाब स्ट्रेटसहित अन्य मोर्चालाई पनि सक्रिय बनाउने नयाँ रणनीति अपनाउने लक्ष्य राखेका छन्। हालै इरानी विदेशमन्त्री अब्बास अगाघचीसहितका अधिकारीहरूले लेबनानमा जारी इजरायली आक्रमण तुरुन्त रोकिनुपर्नेमा जोड दिएका छन्।






