Skip to main content

आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रका लागि नयाँ योजनाहरूको घोषणा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पर्यटन क्षेत्रका विभिन्न परम्परागत र अमूर्त कार्यक्रमहरूको घोषणा गरेका छन्। सरकारले आगामी छ महिनाभित्र रणनीतिक महत्त्वको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ढाँचा यकिन गर्ने योजना पनि बजेटमार्फत प्रस्तुत गरेको छ। मनाङ र मुस्ताङका दुई सय वर्ष पुराना कम्तीमा दुई दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षण गर्ने नयाँ कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।

सरकारले त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने योजना प्रस्तुत गरेको छ, जसको अवधारणा अस्पष्ट रहेको छ। आगामी वर्ष लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा आधारित निर्वाण पथ प्रवर्द्धन गर्ने योजना पनि बजेटमा उल्लेख गरिएको छ। यस मार्गमा ध्यान, साधना, योग, बौद्ध–वैदिक दर्शन र हिमाली सांस्कृतिक अनुभव समेटिने भनिएको छ।

बजेटमा रामारोशन, खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र लगायत सुदूरपश्चिममा विशिष्ट पर्यटकीय क्षेत्र विकास गर्ने योजना समावेश गरिएको छ। सरकारले खप्तड–बडीमालिका–शुक्लाफाँटा, काँक्रेविहार–पञ्चकोशी–रारा, र अन्य क्षेत्रका लागि पर्यटकीय करिडोर प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको छ। यस वर्ष ‘नेपाल आरोग्य वर्ष २०२७’ मनाउने निर्णय गरिएको छ, जसअन्तर्गत १० वर्षे आरोग्य पर्यटन रणनीति तयार गरी कार्यान्वयनमा ल्याइनेछ।

होटल एसोसिएसन नेपाल (हान) ले आगामी आर्थिक वर्षको बजेटलाई सन्तोषजनक बताउँदै कार्यक्रम कार्यान्वयनमा विशेष जोड दिन आग्रह गरेको छ। हानले २०८५ नेपाल भ्रमण वर्ष, २०२७ आरोग्य वर्ष ब्रान्डिङ गरी मनाउने, पर्यटकीय गन्तव्य विकास गर्न नयाँ योजनाहरूको स्वागत गरेको छ। यसले पर्यटक संख्यामा वृद्धि, बसाइ र खर्च वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।