Skip to main content

डच कप्तान भान डाइक: हामी केही विशेष गर्न सक्छौं

नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले कतार विश्वकप र युरोकपको अनुभवपछि टोली पहिलेभन्दा परिपक्व र अनुभवी भएको बताएका छन्। अर्जेन्टिनासँगको कतार विश्वकपको क्वार्टरफाइनलमा भएको हार पीडादायी भए पनि यसले टोलीलाई मानसिक रूपमा बलियो बनाएको उल्लेख गरे। कप्तान भान डाइकले बलियो टोली र खेलाडीहरूको सही संयोजनका कारण नेदरल्यान्ड्स पहिलो पटक विश्वकप उपाधि जित्न सफल हुने दाबी गरे।

भान डाइकले फिफा विश्वकप २०२६ अघि फिफासँग कुरा गर्दै भने, “अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता केवल उत्कृष्ट व्यक्तिगत खेलाडीसँग मात्र सम्भव हुँदैन, टोलीको सन्तुलन र मानसिक मजबुती पनि आवश्यक हुन्छ।” उनले थपे, “विश्वकप मेरो लागि निकै विशेष थियो, किनभने त्यो मेरो पहिलो फाइनल (नकआउट) थियो।”

कप्तान भान डाइकले अर्जेन्टिनासँगको खेलको बारेमा भने, “त्यो धेरै तीव्र खेल थियो। हामीले शानदार पुनरागमन गर्‍यौं, तर अहिले सोच्दा भन्न सजिलो हुन्छ।” उनले पेनाल्टी शूटआउटको तयारीको बारेमा पनि जानकारी दिए, “हामी सधैं अभ्यास गर्छौं, तर सफलता ग्यारेन्टी हुँदैन।”

भान डाइकले विश्वकप जित्नको लागि टोलीको एकता र सही संयोजनको महत्त्वलाई जोड दिए। उनले भने, “हामीसँग बलियो र एकताबद्ध समूह छ। म यस समूहमा विश्वास गर्छु।”