
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिएनन्। उनले “फर्किएर बोल्ने” आश्वासन दिँदै भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा दिल्ली पुगेका छन्। उनले भाजपा अध्यक्ष नितिन नवीनका साथै सरकारमा उच्च अधिकारीहरूसँग पनि भेट्ने बताइएको छ। भारतीय सञ्चार माध्यमहरूले स्रोतहरूलाई उद्धृत गर्दै लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीचको भेटवार्ता भाजपा कार्यालयमै निर्धारण भएको जनाएका छन्। लामिछानेको भारतीय प्रधानमन्त्रीसँग बुधवार भेटघाट निश्चित भइसके पनि समय भने अझै अनिश्चित रहेको समाचारहरूमा जनाइएको छ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार मोदीको अनुकूल समयमा भेट हुने भएकाले नै त्यस दिन नेपाली प्रतिनिधि मण्डलको कुनै तालिका निर्धारण गरिएको छैन। पछिल्लो पटक तीन वर्षअघि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाजपाको निम्तोमा दिल्ली गएका थिए। लामिछानेको दल रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नजिक छ। उनी नेतृत्वको भ्रमण दललाई स्वागत गर्न चौथाईवालेलाई लिएर भाजपाका पहिलो वरियताका राष्ट्रिय महासचिव अरुण सिंह दिल्लीस्थित विमानस्थल पुगेका थिए।
भारतस्थित नेपालका पूर्वराजदूत शङ्कर शर्माका अनुसार लामिछानेको दलको बलियो अवस्था र झन्डै दुई तिहाइ बहुमतको सरकार र पहिलो पटक अन्तर्क्रिया हुन लागेकाले पनि फरक सङ्केत दिइएको हुन सक्छ। उनले भने, “त्यस्तै अहिले भाजपाको नयाँ अध्यक्ष नितिन नवीन हुनुहुन्छ, नीतिमा केही परिवर्तन भएको पनि हुन सक्छ।” आम चुनावबाट रास्वपा पहिलो पार्टी बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) दुवैलाई टेलिफोन गरेर बधाई दिएका थिए।
प्रधानमन्त्री बालेनले एक वर्षसम्म विदेश भ्रमण नगर्ने विवरणहरू आएका छन्। जबकि उनको भारत भ्रमणको तयारीको लागि भारतीय विदेश सचिव विक्रम मिस्रीको वैशाख अन्त्यमा हुने भनिएको नेपाल भ्रमण स्थगित भएको बताइएको छ। यो पृष्ठभूमिले गर्दा पहिलेका भ्रमणभन्दा लामिछानेको भ्रमणको महत्त्व बढी र फरक रहेको ठान्छन्, भारतस्थित नेपालका भूतपूर्व राजदूत नीलाम्बर आचार्य। उनले भने, “यो भ्रमणको राजनीतिक महत्त्व छ, यसले नेपाल-भारतको मित्रता र सहयोगको सन्दर्भमा योगदान पुर्याउन सक्छ।”






