
थाइल्याण्ड पर्यटन प्राधिकरणले नेपाली पर्यटकलाई आकर्षित गर्न स्वास्थ्य र आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै नयाँ अभियान सुरु गरेको छ। नेपालका लागि थाइल्याण्डका राजदूत डोनाविट पुलसावतले यस वर्ष थप २० देखि ३० हजार नेपालीलाई थाइल्याण्ड भ्रमण गराउने लक्ष्य राखेको बताउनुभयो। हाल नेपाल र थाइल्याण्डबीच तीनवटा वायुसेवा कम्पनीहरूले हप्तामा १९ उडानहरू सञ्चालन गरिरहेका छन्।
१९ जेठ, काठमाडौं – थाइल्याण्ड पर्यटन प्राधिकरणले नेपाली पर्यटक लक्षित प्रवर्धन अभियान थालेको छ। संसारभरका पर्यटकलाई आकर्षित गर्दै आएको थाइल्याण्डले ‘वेलनेस टुरिजम प्रडक्ट’ अर्थात् स्वास्थ्य तथा आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै नेपालमा नयाँ अभियान चलाएको हो। थाइल्याण्ड पर्यटन प्राधिकरणको नयाँ दिल्ली कार्यालयले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपाली टूर अपरेटरहरूलाई आफ्नो पर्यटन उत्पादनबारे जानकारी दिएको छ।
कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत डोनाविट पुलसावतले थाइल्याण्ड गन्तव्य निकै डाइनामिक भएको उल्लेख गर्नुभएको छ। वार्षिक रूपमा ५० हजार नजिक नेपाली पर्यटकहरूले थाइल्याण्ड भ्रमण गरिरहेको तथ्यांक प्रस्तुत गर्दै राजदूत पुलसावतले यस वर्ष थप २० देखि ३० हजार नेपालीलाई थाइल्याण्ड भ्रमण गराउने लक्ष्य रहेको जानकारी गराउनुभयो।
थाइल्याण्डले स्वास्थ्य तथा आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै प्याकेजको बिक्री गर्न थालेको जनाएको छ। साथै, थाइल्याण्डले बन्जी जम्पिङ, प्यारामोटर, स्काई डाइभिङ, एटीभी राइडजस्ता साहसिक गतिविधिहरूमा पनि पर्यटकलाई आकर्षित गर्दै आएको छ। थाइल्याण्ड पर्यटन प्राधिकरणका अनुसार नेपाली नागरिकहरूले देशका जुनसुकै स्थानबाट ई–भिसाको आवेदन दिन सक्नेछन्। नेपाल र थाइल्याण्डबीच अहिले तीनवटा एयरलाइन्सले हप्तामा १९ उडान सञ्चालन गरिरहेका छन् जसले दुई देशका पर्यटन सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुऱ्याइरहेको छ।






