
१९ जेठ, धनगढी। कञ्चनपुरको बेलौरी नगरपालिका-८ खप्टी नाला क्षेत्रमा डेढ किलोमिटर लामो हुलाकी सडक भारतसँगको सीमा विवादका कारण निर्माण हुन सकेको छैन। २०७३ सालदेखि निर्माण थालेको पुनर्वासदेखि दैजीसम्मको ६२ किलोमिटर सडकखण्डमा यो क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण अहिलेसम्म कालोपत्रे गरिएको छैन। स्थानीयवासीहरू विवाद समाधान गरी सडक निर्माण गरिदिन माग गर्दै विगत ९ वर्षदेखि संघर्ष गरिरहेका छन्। तर, दुई देशको मामला भएकाले अहिलेसम्म विवादित भूमिबारे कुनै निर्णय भएको छैन। नेपाल-भारत सीमा स्तम्भ नम्बर ७७८/१(३८) बाट २० मिटरको दूरीमा नेपालतर्फ निर्माण हुँदै गरेको यो सडकमा भारतीय पक्षको अवरोध निरन्तर छ। सीमा स्तम्भ वरिपरि सडकको दायाँ-बायाँ वर्षौंदेखि नेपालीहरूले जग्गा चलनभोग गर्दै आएका छन्। उनीहरूले नेपाल सरकारले मालपोत समेत तिर्दै आएका छन्।
सडक निर्माण र भूमिको विवाद समाधानका लागि संघर्ष गर्दै आएका बेलौरीका स्थानीयहरु प्रधानमन्त्री बालेन शाहको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्तिपछि थप आक्रोशित भएका छन्। सीमा विवाद समाधानको आशासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिएका स्थानीय प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिपछि निराश भएका बताएका छन्। विवादका कारण निर्माण हुन नसकेको हुलाकी सडकका लागि बेलौरी नगरपालिका-८ का भुवन चौधरीले भारतीय पक्षको अवरोधले समस्या भएको गुनासो गरे। “यो सडकभन्दा बाहर पनि धेरै जनाको लालपुर्जा भएको जग्गा छ र हामी अहिले पनि खेतीपाती गर्दैछौं। तर भारतीय एसएसबीले आफ्नो भूमि हो भन्दै बारम्बार समस्या दिइरहेको छ। सडक बनाउनै दिइएको छैन,” चौधरीले भने।
बेलौरी नगरपालिका-१० सडकघाटका स्थानीय चक्रबहादुर कठायतले वर्षौंदेखि चलनभोग गर्दै आएको क्षेत्र भारतीय नक्सामा पर्ने भन्दै अवरोध गर्दा अहिले सम्म सडक निर्माण हुन नसकेको बताए। उनले सीमा क्षेत्रका नेपाली लालपुर्जा भएका जमिनमा भारतीय नागरिकले कब्जा समेत गरेको बताए र प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आम जनसमुदायको बुझाइसँग मेल नभएको बताएका छन्। “हुलाकी सडक मात्र होइन, लालपुर्जा भएको जमिनमा पनि भारतीयले कब्जा गरिसकेको छ। प्रधानमन्त्रीले संसद्मा दिनुभएको अभिव्यक्तिमा यहाँको आम बुझाइसँग मेल खाँदैन,” कठायतले बताए।
प्रधानमन्त्रीको भनाइले स्थानीयमा थप त्रास सिर्जना भएको बताए कठायतले। “पहिल्यै पनि दबाबमा छौं। प्रधानमन्त्रीको कुराले त्रास बढायो। अझै अतिक्रमण हुने त होइन भन्ने आशंका छ,” उनले भने। नेपाल-भारत पिलर नम्बर ३८ नजिकै इँटा भट्टा चलाउँदै आएका हरि चन्द ठकुरी सीमा विवादमा लामो समयदेखि संघर्षरत व्यक्ति हुन्। नेपाल-भारत सीमा सरोकार समितिको उपसमिति संयोजक रहेका चन्दले प्रधानमन्त्रीको अभिव्यक्तिले चिन्तित र आक्रोशित भएको सुनाए। “संसद्मा प्रधानमन्त्रीले दिनुभएको जवाफ गलत छ। नेपालीतर्फबाट भारतीय भूमि कतै पनि मिचिएको छैन,” चन्दले भने।
नेपाली जनता चलनभोग गरेको जग्गा प्रमाणका आधारमा फिर्ता ल्याउन नसक्ने नेता वा कर्मीमाथि कालापानी र सुस्ता फर्काउने विश्वास गर्नसकिने छैन, उनी बताउँछन्। “हामीले जोतेको जमिन त्याग्नुपर्ने छैन भने यस्ता नेताले कालापानी र सुस्ता फिर्ता ल्याउने कसरी विश्वास गर्ने?” चन्दले प्रश्न गरे। प्रधानमन्त्री बालेनलाई भारतसँग समान रूपमा सम्झौता हुने र मिचिएको जग्गा फिर्ता पाइनेमा विश्वास रहेको थियो तर उनको अभिव्यक्तिले त्यो गलत रहेको प्रमाणित गरेको उनी बताउँछन्।
२०५९ अघिको नक्सामा नेपाली भूमिमै पर्ने भूभागलाई नयाँ नक्साले भारततर्फ देखाउने भारतीय दाबी रहेको छ। अहिलेको विवाद पिलर नम्बर ३८ भन्दा लगभग २५० मिटर भारततर्फ नेपालकै भूमि थियो, तर भारतीय पक्षले मिच्दै समस्या सिर्जना गरेको छ।






