
नेपाल सुपर लिग (एनएसएल) को चौथो सिजन आगामी ५ सेप्टेम्बर २०२६ देखि होम एन्ड अवे फर्म्याटमा सञ्चालन हुने छ। लिगले आगामी सिजनमा थप तीन नयाँ टोली समावेश गरी कुल टोली संख्या १० पुर्याउने घोषणा गरेको छ र नयाँ क्लब सञ्चालनका लागि आवेदन आह्वान गरेको छ। नयाँ विस्तार योजनाअन्तर्गत विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत क्षेत्रबाट क्लबका लागि आवेदन आउन अपेक्षा गरिएको छ। २० जेठ, काठमाडौं।
नेपाल सुपर लिग (एनएसएल) फुटबलको चौथो सिजनको विस्तार प्रक्रिया सुरू भएको छ। लिगले आगामी सिजनदेखि होम एन्ड अवे फर्म्याटमा प्रतियोगिता सञ्चालन गर्दै तीन नयाँ टोली थप्ने घोषणा गरेको छ। एनएसएलका अध्यक्ष श्रेयान्स कार्कीले जारी गरेको विज्ञप्तिअनुसार ५ सेप्टेम्बर २०२६ देखि सुरु हुने चौथो सिजनमा हालका सात टोलीसहित तीन नयाँ टोली थपेर प्रतियोगितालाई १० टोलीसम्म विस्तार गरिनेछ।
लिगले व्यक्ति, कम्पनी, कन्सोर्टियम तथा फुटबलसँग सम्बन्धित संस्थाहरूलाई नयाँ क्लब सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको छ। विस्तार योजनाअन्तर्गत विशेषगरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रबाट आवेदन आउने अपेक्षा गरिएको छ भने अन्य क्षेत्रबाट आउने उत्कृष्ट प्रस्तावहरूलाई पनि विचार गरिने छ।
पहिलो सिजनमा विराटनगर सिटी एफसीले प्रतियोगिता खेलेको थियो भने दोस्रो सिजनमा वीरगञ्ज युनाइटेड एफसीले मात्र सहभागिता जनाएको थियो। एनएसएलले नयाँ टोलीहरूको सहभागिताले देशभरि व्यावसायिक फुटबलको विस्तार, स्थानीय समर्थकहरूसँगको सम्बन्ध सुदृढ पार्ने, क्लब विकास तथा व्यावसायिक वृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ। लिगले आवेदन प्रक्रिया, योग्यता मापदण्ड र सहभागिता सम्बन्धी थप विवरण इच्छुक पक्षलाई उपलब्ध गराउने जनाएको छ। ‘होम एन्ड अवे संरचनामा रूपान्तरण हुनु लिग र नेपाली फुटबलका लागि महत्वपूर्ण कदम हो। देशभर दिगो र समुदायमा आधारित फुटबल क्लब निर्माण गर्ने हाम्रो दृष्टिकोण साझा गर्ने नयाँ साझेदारहरूलाई स्वागत गर्न हामी उत्साहित छौं’ विज्ञप्तिमा उल्लेख गरिएको छ।






