Skip to main content

रवि लामिछाने: दिल्लीमा रास्वपा सभापति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रधानमन्त्री मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्दै आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। मोदीले थप लेखेका छन्: “हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उच्चाईमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्साहित छौं।”

वार्तामा भारतका तर्फबाट विदेश मन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री लगायत सहभागी थिए। यस क्रममा रास्वपाका प्रतिनिधिमण्डलमा लामिछानेकी पत्नी निकिता पौडेल, सांसद विपिन आचार्य, दीपक बोहोरा र दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी थिए। लामिछाने सोमबार पाँचदिने भारत भ्रमणका लागि निस्किएका थिए। उनी भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका हुन्।

नेपालमा जेन जी आन्दोलनपछि सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुईतिहाइ बहुमत ल्याएर शक्तिशाली सरकार बनाएको छ। परिवर्तित राजनीतिक परिवेशमा नेपालबाट भारत भ्रमण गर्ने लामिछाने वरिष्ठतम नेता हुन्। नेपाल-भारत सीमा विवादमा तातोपनको बीचमा, नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आइतवार प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको भूमि मिचेको’ टिप्पणी गरेपछि भोलिपल्ट लामिछाने भारत भ्रमणमा निस्किएका थिए। उनले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने बताएका थिए। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका नहुने प्रतिक्रिया दिएका छन्।