
रोल्पामा जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको सहकार्यमा ‘राहदानी घरदैलो सेवा’ सुरु गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा राहदानी उपलब्ध गराउन ‘तपाईंको राहदानी, तपाईंको हातमा’ नारासहित सेवा सञ्चालनमा आएको हो। यस सेवाअन्तर्गत नागरिकहरूले आफ्नै इच्छाअनुसार हुलाकमार्फत घरमै राहदानी पाउन सक्ने व्यवस्था मिलाइएको छ। २० जेठ, रोल्पा।
रोल्पामा राहदानी घरदैलो सेवा काउन्टर सञ्चालनमा आएको छ। हुलाकमार्फत सेवाग्राहीलाई राहदानी उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला हुलाक कार्यालय रोल्पाको संयुक्त समन्वयमा मंगलबारदेखि नयाँ सेवा सुरु गरिएको छ। दुर्गम तथा विकट क्षेत्रका नागरिकहरूलाई सहज, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नागरिकहरूले राहदानी प्राप्त गर्न पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्दै सरकारले सेवा घरदैलोमै पुर्याउने लक्ष्य राखेको बताए। उनले भने, ‘हामीले मंगलबारदेखि रोल्पामा ‘राहदानी घरदैलो सेवा काउन्टर’ सुरु गरेका छौं। नेपाल सरकारको लक्ष्य अनुरूप पहाडी जिल्ला रोल्पामा यो सेवा प्रभावकारी हुनेमा म विश्वस्त छु।’
सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाको कोठा नम्बर १०२ मा विशेष काउन्टर स्थापना गरिएको छ। उक्त काउन्टरबाट राहदानी घरसम्म पठाउने सम्पूर्ण प्रक्रिया व्यवस्थापन गरिने प्रशासनले जानकारी गराए। जिल्ला हुलाक कार्यालय रोल्पाका प्रमुख युवराज परियारले नागरिक सेवालाई प्रभावकारी बनाउने उद्देश्य रहेको बताए। उनले भने, ‘सुरुवाती चरणमा स्थानीय तहको केन्द्रसम्म सेवा पुर्याउने काम गर्दैछौं। अहिले जनशक्ति कम भएकाले जनशक्तिको व्यवस्थापन गरी सेवालाई गृहपठाउँ विस्तार गर्ने योजना बनाएका छौँ।’
रोल्पा भौगोलिक रूपमा दुर्गम जिल्ला भएकाले यहाँका धेरै नागरिकले सामान्य प्रशासनिक सेवा प्राप्त गर्न लामो दूरी तय गर्नुपर्दछ। जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला हुलाक कार्यालय रोल्पाबीच ‘राहदानी घरदैलो सेवा काउन्टर’ सञ्चालनका लागि १२ जेठमा संयुक्त सम्झौता भएको थियो। रोल्पामा १ नगरपालिका र ९ गाउँपालिका गरी कुल १० स्थानीय तह तथा ७२ वडा रहेका छन्।






