Skip to main content

भारतबाट ल्याउन पाउने सामानको मूल्य सीमा ५ सय रुपैयाँमा वृद्धि

सरकारले नेपाली यात्रुहरूले विदेश जाने क्रममा ल्याउन र लैजान पाउने सामानहरूको नयाँ सूची सार्वजनिक गरेको छ। १२ महिनाको वैदेशिक रोजगारी पूरा गरेर फर्किने नेपालीले ६५ इन्चसम्मको टेलिभिजन महसुल छुटमा ल्याउन पाउने व्यवस्था गरिएको छ। स्थलमार्गबाट आवतजावत गर्ने यात्रुहरूका लागि महसुल छुटको सीमा १०० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ। २० जेठ, काठमाडौं। सरकारले झिटीगुन्टासम्बन्धी व्यवस्थाअनुसार भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको मूल्यलाई ५ सय रुपैयाँ पुर्‍याएको छ। यसअघि १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था रहेकोमा नयाँ आर्थिक विधेयकले संशोधन गर्दै यो सीमा बढाएको हो। यसअघि सीमामा सर्वसाधारणले १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार तिर्नुपर्ने भएको कारण देशव्यापी विरोध भएको थियो। अब सरकारले बजेटमार्फत यस सीमालाई बढाएको छ।

साथै, भारतमा अध्ययनरत विद्यार्थीले ल्याएको वा साथमा राखेको एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एकमा भन्सार महसुल नलाग्ने व्यवस्था गरिएको छ। सरकारले नेपाली यात्रुहरूले यात्रा गर्दा ल्याउन र लैजान पाउने सामानहरूको नयाँ सूची सार्वजनिक गरेको छ, जसमा अधिकांश वस्तुहरू गत वर्षकै सूची दोहोरिएका छन् भने केही वस्तु र सीमा परिवर्तन गरिएको छ। अर्थ मन्त्रालयका अनुसार नेपालबाट स्थायी बसोबास गर्ने नेपाली विदेशमा गएर नेपाल फर्कंदा व्यक्तिगत प्रयोगका लागि साथमा रहेका सामानहरू पूर्ण महसुल छुटका साथ ल्याउन सक्नेछन्।

त्यसमा प्रयोग गरिएका लुगाफाटा, बरबिछ्यौना, घरधन्दा तथा पुराना सामान, उपचारका लागि ल्याइएको औषधि, शारीरिक अशक्त व्यक्तिले प्रयोग गर्ने सहकारी सामग्री, भन्सार महसुल ऐन २०८१ को अनुसूची ४ को प्रकरण १ मा तोकिएको सीमा भित्र पर्ने सुनचाँदीका गहना समेत समावेश छन्। अर्कोतर्फ प्रयोग गरिएका ट्याबलेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र मोबाइल फोन एक/एक थान ल्याउन समेत भन्सार छुट छ। वैदेशिक रोजगारीमा १२ महिना काम गरी फर्केका नेपालीले ६५ इन्चसम्मको टेलिभिजनमा महसुल छुट पाउने भएका छन्। यसअघि यस्तो छुट सामाजिक सुरक्षा कोषमा सूचीकृत नागरिक मात्र पाउने व्यवस्था थियो र सूचीकृत नभएका ३२ इन्च टेलिभिजन मात्र छुटमा ल्याउन पाइन्थ्यो। यस्तै प्रकारको छुट सुविधा एकपटक मात्र उपलब्ध हुनेछ।