
वैदेशिक रोजगार विभागले केयरगिभर तालिम लिएका व्यक्तिहरूको विवरण ३ दिनभित्र उपलब्ध गराउन तालिम प्रदान गर्ने संस्थाहरूलाई निर्देशन दिएको छ। विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमामा २,३०० नेपाली सहायक कामदार पठाउनको लागि १७ जेठदेखि ७ असारसम्म आवेदन खुलाएको छ। विगतमा नक्कली प्रमाणपत्र पेश गरी आवेदन दिने समस्या देखिएका कारण यस पटक विभागले पहिल्यै विवरण रुजु गर्न लागेको हो।
२० जेठ, काठमाडौं। वैदेशिक रोजगार विभागले केयरगिभर तालिम लिएका व्यक्तिहरूको विवरण माग गरेको छ। विभागले केयरगिभर तालिम प्रदायक संस्थाहरूसँग सुरुदेखि हालसम्म तालिम लिएका व्यक्तिहरूको विवरण ३ दिनभित्र उपलब्ध गराउन भनेको हो। विभागले, सीटीईभीटी र एनएभीटीमा दर्ता भएका तालिम प्रदायक संस्थाहरूसँग प्रारम्भदेखि हालसम्म केयरगिभर तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।
विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदारका लागि २ हजार ३ सय कोटामा आवेदन आह्वान गरेको छ। सोही प्रयोजनका लागि विभागले तालिम प्रदायक संस्थाहरूमा हालसम्म तालिम लिएका व्यक्तिहरूको विवरण माग गरेको हो। यसअघि २०७८ असार ११ गते केयरगिभरका लागि दोस्रो चरणको विज्ञापन खुलिसकेको थियो जसमा २ हजार जनाको लागि आवेदन माग गरिएको थियो। त्यतिबेला कतिपय केयरगिभर तालिम प्रदायक संस्थाहरूले तालिम नदिई प्रमाणपत्र मात्र प्रदान गरेको पाइएको थियो। त्यसपछि विभागले छानबिन गर्दै नक्कली प्रमाणपत्रधारीहरूको आवेदन रद्द गरेको थियो।
विगतमा जस्तो नक्कली प्रमाणपत्र लिएर आवेदन दिने समस्या नदोहोरियोस् भनेर विभागले सुरुदेखि हालसम्म तालिम प्रदान गरेका व्यक्तिहरूको विवरण माग गरेको हो। विभागले जेठ १७ गतेदेखि असार ७ गतेसम्मको समयावधि तोकेर आवेदन आह्वान गरेको छ। हाल आवेदन प्रक्रिया चलिरहेको छ र आवेदन मिति सकिएपछि रुजु तथा छनोट प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ।






