
२० जेठ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम लागू भएपछि स्थानीय उपभोक्ताहरूले फाइदा पाएका छन्। गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घरका मगर परिवारहरूले सुविधा पाएका छन्। सुक्खा प्रभावित क्षेत्र सल्लेमा सञ्चालनमा आएको लिफ्टिङ प्रविधिद्वारा खानेपानी आयोजनाको कुल लागत ५३ लाख रुपैयाँ रहेको जनाएको छ। जसमा गोर्खा वेलफेयर ट्रष्टले ४६ लाख रुपैयाँ र स्थानीय उपभोक्ताले ७ लाख रुपैयाँ बराबरको श्रमदान तथा नगद सहयोग गरेको वडाध्यक्ष काशीराज राईले बताए।
स्थानीय ठूलो पँधेरो मुहानबाट लिफ्टिङ प्रविधिद्वारा पानी तानेर वस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ। वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेका सल्लेका ३१ घरका मगर परिवारहरूले अब आफ्नै घरको आँगनमा स्वच्छ खानेपानी पाउन थालेका छन्। लिफ्टिङ प्रविधिबाट खानेपानी योजना निर्माण सुरु भएको ७२ दिनभित्रै सम्पन्न गरी नगरपालिका समक्ष हस्तान्तरण गरिएको गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईले जानकारी दिए। खानेपानी आयोजनाअन्तर्गत २६ घरमा निजी र दुई वटा सार्वजनिक धाराहरू जडान गरिएको छ। लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा आएपछि दैनिक उपभोगका लागि टाढा–टाढाबाट पानी बोकेर ल्याउनु पर्ने बाध्यता अन्त्य भएको स्थानीयवासीले बताएका छन्। –रासस






