
झापाको मेचीनगर नगरपालिका–७ मा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अजय राजवंशी र अजय माझीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीले दुर्घटना गराउने विद्यालय बस र चालक निरेन धिमाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। २० जेठ, विराटनगर।
मेचीनगर–७ सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारी तर्फ जाँदै गरेको होलिबेल इङ्ग्लिश बोर्डिङ स्कूलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको र दुई जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मोटरसाइकल चालक मेचीनगर–७ का २१ वर्षीय अजय राजवंशी र पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझी गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका छन्। घटनापछि प्रहरीले बस र चालक मेचीनगर–११ का ४५ वर्षीय निरेन धिमाललाई नियन्त्रणमा लिएको छ।






