Skip to main content

पहाडी क्षेत्रमा वर्षा र तराईमा तापक्रम वृद्धिको पूर्वानुमान

२१ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र केही जिल्लामा तातो दिनहरू हुने सम्भावना रहेको जनाएको छ। हिमाली र पहाडी भागका केही स्थानहरूमा भने वर्षा पर्ने पनि भनिएको छ। महाशाखाका अनुसार हाल मुलुकको पश्चिमी क्षेत्रमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव भैरहेको छ। अहिले गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागहरूमा साधारणतया बदली छ। अन्य पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछन् भने तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एक-दुई स्थानहरूमा आज बिहान हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भागहरूमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। हिमाली र पहाडी क्षेत्रका केही स्थान र मधेश तथा कोशी प्रदेशका तराईका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ। आज राति देशका हिमाली भागहरूमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रहरूमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र मधेश प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भागहरू तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक-दुई स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। त्यसैगरी, देशका हिमाली र पहाडी भागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।