
भारतको बिहारस्थित मुजफ्फरपुरको एक निजी अस्पतालको आईसीयूमा आगो लाग्दा कम्तिमा ४ जनाको मृत्यु भएको छ। बिहीबार बिहान लगभग ३ बजे मुजफ्फरपुरको प्रसाद अस्पतालमा आगो लागेको हो। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् र मृतकका परिवारलाई जनै ४ लाख भारतीय रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार सर्ट सर्किटका कारण अस्पतालको ICUमा आगो लागेको देखिएको छ। स्थानीय जिल्ला अधिकारीले सुरुमा तीन जनाको मृत्यु भएको बताएका थिए, तर पछि यो संख्या बढेको छ। केही सञ्चारमाध्यमहरूले मृतकको संख्या अझ बढ्न सक्ने आशंका पनि गरेका छन्। आगो लाग्दा धेरै मानिस घाइते भएका छन्, जसमा अधिकांश अस्पतालमा भर्ना भएका बिरामीहरू रहेका छन्।
आगो लाग्नासाथ ICUमा रहेका अन्य बिरामीहरूलाई उद्धार गरी नजिकका अन्य अस्पतालहरूमा सारिएको छ। जिल्ला अधिकारीका अनुसार घटनाको पूर्ण विवरण विस्तृत अनुसन्धानपछि मात्रै थाहा हुनेछ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा अस्पतालबाट बिरामीहरूलाई हतारहतार बाहिर निकालिरहेको दृश्य देखिन्छ।






