Skip to main content

गाजामा इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु

गाजामा भएका पछिल्ला इजरायली हवाई आक्रमणहरूमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। युद्धविराम लागू भएयता इजरायली आक्रमणबाट गाजामा कम्तीमा ९३६ जनाको ज्यान गइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन आफ्नो सेनालाई निर्देशन दिनुभएको छ।

गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उद्धृत गर्दै एएफपीले जनाएको छ। गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासले बताए। गाजा सहरको अल–सिफा अस्पतालमा भएको आक्रमणमा १५ जना घाइते भएकोसमेत उनले बताए।

गत अक्टोबरदेखि युद्धविराम लागु भएता पनि निरन्तरको इजरायली आक्रमणले गाजा पट्टीमा हिंसात्मक गतिविधि बढिरहेको छ भने कयौँ युद्धविरामका सर्तहरूको अवहेलना गरेको आरोपमा इजरायली सैन्य नियन्त्रणमा छन्। पछिल्लो समयमा हमास र इजरायल दुवै पक्षले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्।