Skip to main content

लुइस डियाज: विश्वकपमा कोलम्बियाको प्रमुख आशा

फिफा विश्वकप २०२६ मा कोलम्बिया पोर्चुगल, उज्बेकिस्तान र डीआर कंगोसँग ‘के’ समूहमा प्रतिस्पर्धा गर्दैछ। सन् २०२२ को विश्वकपबाट बन्चित कोलम्बियाका लागि विंगर लुइस डियाज पहिलो पटक विश्वकपमा भाग लिन तयार छन्। बायर्न म्युनिखका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले डियाजको क्षमताबारे भनेका छन्, ‘उनमा अराजक शैलीको सिर्जनात्मकता छ।’ २० जेठ, काठमाडौं। फिफा विश्वकप २०२६ मा कोलम्बिया लुइस डियाजको उत्कृष्ट प्रदर्शनमा भरपर्दो टिमसहित मैदानमा उत्रन तयारीमा छ। सन् २०१४ को ब्राजिल विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको सफलतालाई अझ पर बढाउने लक्ष्यसहित कोलम्बिया समूह ‘के’ मा पोर्चुगल, उज्बेकिस्तान र डीआर कंगोसँग प्रतिस्पर्धा गर्नेछ। २९ वर्षका डियाजले आफ्नो करियरमा घरेलु क्लब जुनियरदेखि पोर्चुगलको एफसी पोर्टो, इङ्ल्यान्डको लिभरपुल र जर्मनीको बायर्न म्युनिखसम्म सफलता हासिल गरेका छन्। बारान्कासमा जन्मिएका डियाज आफ्नो उत्कृष्ट ड्रिब्लिङ र आक्रामक खेल कौशलले किशोरावस्थादेखि नै स्काउटहरूलाई आकर्षित गरेका थिए। उनले जुनियरबाट कोपा कोलम्बिया, कोलम्बियन सुपरलिगा र दुई लिग उपाधि जितेका छन्। पछि पोर्टोमा स्थान बनाएर १२५ खेलमा ४१ गोल गर्दै दुई प्रिमाइरा लिगा, दुई टासा डे पोर्चुगल र एक घरेलु सुपर कप जित्न योगदान दिएका छन्। उनका उत्कृष्ट प्रदर्शनका कारण लिभरपुलले जनवरी २०२२ मा उच्च रकम खर्चेर उनलाई अनुबन्ध गरेको थियो। एनफिल्डमा उनले मोहमद सालाह, साडियो माने, कोडी गाक्पो र दिवंगत डियोगो जोटासँग उत्कृष्ट साझेदारी गरेका थिए। सन् २०२२/२३ सिजनमा चोटका कारण लामो समय मैदान बाहिर रहे पनि उनले २०२४/२५ मा लिभरपुललाई प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले। जुलाई २०२५ मा जर्मन क्लब बायर्न म्युनिखले उनलाई अनुबन्ध गर्यो। बायर्नमा आबद्ध भएको एक महिनामै उनले जर्मन सुपर कप जिते। मार्च २०२६ को अन्तर्राष्ट्रिय विश्रामअघिसम्म उनले सबै प्रतियोगितामा ३८ खेल खेलेर २२ गोल र १८ असिस्ट गरेका थिए। बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले डियाजको बारेमा भने, ‘उनमा अराजक शैलीको सिर्जनात्मकता छ। फाइनल थर्डमा पुग्नेबित्तिकै उनी धेरै सोच्दैनन्, स्वाभाविक रूपमा खेल्छन् र प्रतिद्वन्द्वीलाई छल्न प्रयास गर्छन्। लुचो (डियाज) लाई रोक्न खोज्दा आक्रमण समाप्त जस्तो लाग्छ, तर उनी अचानक गोल गर्दै छिटो दौडिरहेका हुन्छन् वा फाउल निकालिरहेका हुन्छन्। यही कारण उनी अत्यन्त खतरनाक खेलाडी हुन्।’ कोलम्बियाका कप्तान जेम्स रोड्रिग्वेजले पनि डियाजको प्रशंसा गर्दै भने, ‘म उनलाई धेरै नजिकबाट चिन्छु, उनी निकै सरल स्वभावका छन्। उनी ठूलो उपाधि जित्ने आकांक्षा राख्छन्। भविष्यमा पनि यस्ता लुचोहरू देख्न पाओस्।’ डियाज २०२१ को कोपा अमेरिका २०२१ मा संयुक्त सर्वाधिक गोलकर्ता थिए। उनले चार गोल गर्दै लियोनल मेस्सीसँग शीर्ष स्थान साझा गरेका थिए। यस विश्वकप छनोटमा पनि उनले सात गोल गरे, जुन दक्षिण अमेरिकी छनोट चरणमा दोस्रो सबैभन्दा बढी हो। ७१ अन्तर्राष्ट्रिय खेलमा २१ गोल गरेका डियाज कोलम्बियाका चौथो सर्वाधिक गोलकर्ता हुन्। यस सूचीमा राडामेल फाल्काओ ३६ गोलसहित शीर्ष स्थानमा छन् भने जेम्स रोड्रिगेज ३१ र आर्नोल्डो इगारन २५ गोलसहित अगाडि छन्। सन् २०२२ को विश्वकप छनोट हुन नसकेको कोलम्बियाका लागि यो डियाजको पहिलो विश्वकप हुनेछ। स्थिर टोली, अनुभवी खेलाडी तथा स्पष्ट रणनीतिको कारण कोलम्बियालाई यसपालि विश्वकपमा प्रभावशाली टिमका रूपमा हेरिएको छ। बहुमुखी क्षमतासहित निर्णायक प्रदर्शन गर्ने कौशल र उत्कृष्ट खेल बौद्धिकताका कारण डियाज कोलम्बियाको सफलताको मुख्य आधार बन्ने अपेक्षा गरिएको छ।