भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रीगेज र प्रधानमन्त्री मोदीबीच औपचारिक भेट

२१ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेकी भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रीगेज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । पाँच दिने भारत भ्रमणमा रहँदै गर्दा बिहीबार दुई नेताबीच यो महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई नेताबीच ऊर्जा, व्यापार, लगानी, स्वास्थ्य सेवा र अटोमोबाइल लगायतका विभिन्न क्षेत्रहरूमा सहयोग विस्तार गर्ने नयाँ सम्भावनाहरूमा व्यापक छलफल भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘दुवै नेताले भारत–भेनेजुएला सम्बन्धका सबै क्षेत्रहरूको समीक्षात्मक संवाद गरेका छन्।’ उनीहरूले गहिरो र समृद्ध पारदर्शी सहकार्यका लागि आवश्यक पहल गर्न सहमति जनाएका छन्।
त्यसैगरी, दुई देशबीच आपसी रुचिका विषयहरू तथा क्षेत्रीय र वैश्विक महत्वका मुद्दामा पनि विचार विमर्श भएको छ। साथै, ‘ग्लोबल साउथ’ को हित र प्रगतिलाई अग्रसर गराउने विषयमा दुवै शीर्ष नेताले साझा प्रतिबद्धता प्रकट गरेका छन् भनी जयसवालले जनाएका छन्।
भेनेजुएला विश्वकै दोस्रो ठूलो पेट्रोलियम भण्डार गर्ने मुलुक हो। केही समयअघि त्यहाँका निवर्तमान राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले राजधानी काराकसबाट अपहरण गर्ने प्रयास गरेको बताइएको थियो। त्यसपछि उपराष्ट्रपति डेल्सी रोड्रीगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छिन्।






