Skip to main content

हिजबुल्लाहले भन्यो- इजरायल र लेबनानबीचको युद्धविरामलाई स्वीकार्दैनौं

हिजबुल्लाहका नेता नइम कासिम, २१ जेठ, काठमाडौं। लेबनानको सशस्त्र समूह हिजबुल्लाहले हालै इजरायल र लेबनान सरकारबीच भएको युद्धविराम सम्झौताप्रति पूर्ण अस्वीकृति जनाएको छ। अमेरिकाको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताको सबै सर्तहरू अस्वीकार गर्दै यसलाई मान्नेछैन भनी स्पष्ट पारेको हो। हिजबुल्लाहका नेता नइम कासिमले बिहीबार जारी गरेको वक्तव्यमा दुई देशबीच भएको युद्धविराम वार्तालाई ‘बेकार’ र लेबनानका लागि ‘अपमानजनक’ बताउँदै त्यसलाई लेबनानका बहुसंख्यक जनताले पनि स्वीकार नगर्ने दाबी गरेका छन्।

अमेरिका, इजरायल र लेबनानले बुधबार मात्र संयुक्त रूपमा जारी गरेको वक्तव्यमार्फत युद्धविराम घोषणा गरेका थिए। उक्त घोषणामा हिजबुल्लाहले गोलीबारी बन्द गरेको खण्डमा मात्र युद्धविराम लागू हुने उल्लेख गरिएको थियो। तर, हिजबुल्लाहका नेता कासिमको यस्तो जवाफले युद्धविराम सम्झौताबीच अस्थिरता उत्पन्न भएको छ। उनले भने, ‘यो युद्धविरामअनुसार हिजबुल्लाहले गोलीबारी रोक्नुपर्छ र इजरायली सीमा नजिकै दक्षिणी क्षेत्रमा रहेका आफ्ना लडाकुलाई हटाउनुपर्छ। यो आत्मसमर्पणको बराबर हो र इजरायलको लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउनेछ।’