Skip to main content

‘दुर्गा प्रसाइँ र राप्रपाकै असन्तुष्टलाई समेट्दै नयाँ पार्टी बनाउँछु’

डा. धवल शमशेर राणाले आफूले कहिल्यै राप्रपामा नफर्कने स्पष्ट पारेका छन्। उनले नेतृत्वमाथि एजेन्डा खरिद गरेको आरोप लगाउँदै भनेका छन्, “हिन्दू राष्ट्र र राजालाई मात्र भोट माग्न प्रयोग गरे, अब राप्रपाबाट पार लाग्दैन।” राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाले पार्टी छाड्ने घोषणा गरेका हुन्। राप्रपा नेतृत्वले हिन्दू राष्ट्र र राजतन्त्रको एजेन्डालाई केवल सत्ता स्वार्थका लागि प्रयोग गरेको, तोकिएको समयमा महाधिवेशन नगरेको र पार्टीभित्र विषाक्त वातावरण सिर्जना भएको कारणले उनले यो निर्णय लिएका हुन्।

प्रतिनिधिसभाका पूर्वसांसद तथा नेपालगञ्जका पूर्वमेयर रहिसकेका राणा चाँडै नयाँ पार्टी खोल्न लागेका छन्। दुर्गा प्रसाईं जस्ता अभियन्ता र साना दलसमेतलाई समेटेर ‘कट्टर राष्ट्रवादी’ पार्टी निर्माण गर्ने उनको योजना छ। उनले भने, “हामीले मनमा राखेका लक्ष्य र मूल्यमा आधारित एजेन्डा राप्रपाबाट पूरा नहुने देख्दा मैले पार्टी छोड्ने निर्णय गरेको हुँ।” राप्रपाको नेतृत्वले आफ्नो एजेन्डा पुरा गर्न नसकेको र पार्टीमा विषाक्तता बढेको उनको भनाइ छ।

राणाले महाधिवेशन नगर्नु र नेतृत्व परिवर्तन नहुनुले ठूलो चुनौतीहरु सिर्जना गरेको बताएका छन्। उनले भने, “पछिल्ला उपनिर्वाचन र राष्ट्रिय निर्वाचनमा हाम्रो लगभग ९७ प्रतिशत उम्मेदवारले जमानत गुमाएका छन्।” राप्रपाको दस्तावेजमा राजतन्त्र, हिन्दू राष्ट्र र संघीयता नमान्ने कुरा निकै स्पष्ट रहेको भन्दै उनले भन्नुभयो, “म नयाँ पार्टी बनाएर हाम्रो मुल्य मान्यता र एजेन्डालाई अघि बढाउने अवसर खोज्दैछु।” राणाले राप्रपा छोडेर नयाँ पार्टी घोषणा आगामी १५ दिनभित्र गर्ने योजना रहेको जानकारी दिनुभयो।