Skip to main content

चितवनमा कलेज बसले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु

२१ जेठ, चितवन । गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बसले दिएको ठक्करका कारण भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकल चढिरहेका भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी त्यही घटनास्थलमै घाइते भई मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयले बस चालक मादक पदार्थ सेवन गरेर बस चलाएको आरोप लगाएका छन्। आफन्तहरूले घटनास्थलबाट शव उठाउन सकेका छैनन् भने आक्रोशित स्थानीयहरूले बस तोडफोड गरेका छन्। केही वर्षअघिदेखि नै कलेजको उक्त बसले टिकौली जंगल क्षेत्रका सातवटा सवारीसाधनमा ठक्कर दिँदा २० जना घाइते भएका थिए र सो बस चालकले गाँजा सेवन गरेको पुष्टि भएको थियो।