
२२ जेठ, काठमाडौं । ओमानको मुख्य तेल टर्मिनलमा भर्खरै विष्फोट भएको छ। यी विष्फोट एक ड्रोन आक्रमणका कारण भएको बताइएको छ, जुन सिंगल-ब्वाय मुअरिङ (एसबीएम) बर्थ नजिकै भएको हो। आक्रमण कहिले भएको हो भन्ने पक्ष तत्काल स्पष्ट हुन सकेको छैन। एलएसईजीको ढुवानी तथ्याङ्क (सिपिङ डेटा) अनुसार, शुक्रबार बन्दरगाह क्षेत्र नजिक थुप्रै सुपरट्याङ्करहरू लामो समयसम्म लंगर फालेको देखिएको थियो।
रोयटर्सको रिपोर्टअनुसार, विष्फोटपछि ओमानले आफ्नो प्रमुख ‘मिना अल फहल’ तेल टर्मिनलमा कच्चा तेलको लोडिङ अस्थायी रूपमा रोकिदिएको छ। रिपोर्टमा भनिएको छ कि विष्फोट टर्मिनलको एसबीएम-१ र एसबीएम-२ बर्थको बीचमा भएको थियो र स्रोतहरूलाई उद्धृत गर्दै यसलाई ड्रोन आक्रमणको रुपमा मानिएको छ। तथापि, ओमान सरकारले अहिलेसम्म यस आक्रमण वा क्षतिको विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। कार्यालय समय बाहिर भएकोले टर्मिनललाई तुरुन्त सम्पर्क गर्न सकिने अवस्था नरहेको पनि रोयटर्सले जनाएको छ।
इरानी सरकारी सञ्चार माध्यमले बुधबार ओमानको खाडीमा इरानी जलक्षेत्रतर्फ उन्मुख अमेरिकाको सैनिक जहाजलाई तेहरानले लक्षित गरेको र उक्त जहाजमा ‘नियन्त्रण र कमाण्ड सेन्टर’ रहेको बताएको थियो, तर अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले यसलाई अस्वीकार गरेको छ।






