
मेटा कम्पनीले अमेरिकाको ओहायोमा एआई क्षमता वृद्धिका लागि ‘र्यापिड डिप्लोयमेन्ट स्ट्रक्चर’ अन्तर्गत ठूला टेन्टहरूभित्र आफ्ना डाटा सेन्टरहरू निर्माण गरेको छ। निर्माण समय आधा घटाउने लक्ष्यसहित स्थापित १ लाख २५ हजार वर्ग फिट क्षेत्रफलका पाँचवटा टेन्टभित्र अर्बौँ डलर मूल्यका एआई चिपहरू राखिनेछन्। डाटा सेन्टरमा १४५ अर्ब डलरसम्म खर्च गर्ने मेटाको ठूलो योजनाले यस वर्ष कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत गिरावट आएको छ।
आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो मागलाई सम्बोधन गर्न मेटाले अनौठो रणनीति अपनाएको छ। कम्पनीले अमेरिकाको ओहायोमा रहेको न्यू अल्बानीमा ठूला टेन्टहरूभित्र आफ्ना डाटा सेन्टरहरू निर्माण गरेको छ। यसलाई मेटाले ‘र्यापिड डिप्लोयमेन्ट स्ट्रक्चर’ भनिएको छ। डाटा सेन्टर निर्माण क्षेत्रमा नजिकबाट निरिक्षण गर्ने ‘क्लिनभ्यू’ का संस्थापक माइकल थोमसले यसको खुलासा गरेका हुन्।
यो रणनीति टेस्ला र एक्सएआईजस्ता कम्पनीहरूको कार्यशैलीसँग मेल खान्छ। परियोजनाको मुख्य उद्देश्य निर्माण समयलाई आधा घटाउनु हो। थोमसले अध्ययन गरेका स्थानीय अनुमति पत्रहरू अनुसार मेटाले अप्रिल र जुन महिनाको बीचमा पाँचवटा ठूला टेन्टहरू निर्माण सुरु गरेको थियो। प्रत्येक टेन्ट १ लाख २५ हजार वर्ग फिट क्षेत्र फैलिएको छ।
स्याटेलाइटबाट लिइएका तस्बिरहरूले ती संरचनाहरूको निर्माण पूरा भएको देखाएका छन्। यसअघि २०२५ मा मेटाका सीईओ मार्क जुकरबर्गले पनि मौसम प्रतिरोधी टेन्टहरू प्रयोग गरी मल्टी-गिगावाट डाटा सेन्टरहरू राख्ने योजना बताएका थिए। यस डाटा सेन्टर साइटलाई २०० मेगावाट क्षमताका मोड्युलर ग्यास टर्बाइनहरूबाट ऊर्जा दिइएको छ, जुन प्रविधि मस्कको एक्सएआई कम्पनीले पनि प्रयोग गरिरहेको छ।
यी टेन्टहरूभित्र अर्बौँ डलर मूल्यका एआई चिपहरू राखिनेछन्। मेटाले आफ्नो नयाँ एआई मोडल ‘म्युज स्पार्क’ विकास गरिसकेको भए पनि डेभलपरहरूका लागि यसको पहुँच उपलब्ध गराउन केही ढिलाइ भइरहेको बेला यो भौतिक पूर्वाधार निर्माण भएको हो। मेटाले डाटा सेन्टर र अन्य पूँजीगत खर्चका लागि १४५ अर्ब डलरसम्म खर्च गर्ने योजना बनाएको छ। कम्पनीको ठूलो खर्च गर्ने योजनाप्रति लगानीकर्ताहरूले खासै उत्साह देखाएका छैनन् र यसका कारण कम्पनीको सेयर मूल्यमा यस वर्ष ५ प्रतिशत गिरावट आएको छ। पक्की भवनको सट्टा टेन्टमा एआई चिपहरू राख्नु कम्पनीको खर्च कटौती गर्ने र छिटो नतिजा निकाल्ने प्रयासका रूपमा हेरिएको छ।






