
२२ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले अमेरिकाबाट भारत फर्किनुअघि आफ्ना पूर्वयोजनामा महत्वपूर्ण परिवर्तन गरेका छन्। बिहीबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरिएको भिडियो सन्देशमा उनले आफ्ना समर्थक र विद्यार्थीहरूलाई जुन ६ तारिखमा दिल्ली विमानस्थलमा पुगेर भीडभाड नगर्न विशेष गरी अपिल गरेका छन्। पहिले उनले आफ्ना समर्थकहरूलाई विमानस्थलमै उपस्थित हुन आह्वान गरेका थिए। तर आन्दोलनले अपेक्षाभन्दा बढी जनसमर्थन पाएपछि र विमानस्थलमा ठूलो भिड जम्मा हुँदा सर्वसाधारण र सुरक्षाकर्मीलाई असुविधा पुग्ने सम्भावनालाई ध्यानमा राख्दै उनले उक्त अपिल फिर्ता लिएका हुन्। अशान्ति र अव्यवस्था फैलिन नदिनका लागि आफूले यस्तो निर्णय लिएको स्पष्ट पारेका छन्।
दिपकेले विमानस्थलमा ओर्लिएपछि जन्तरमन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शनका लागि आधिकारिक अनुमति लिन संसद मार्ग प्रहरी चौकीमा सिधै जाने जानकारी दिएका छन्। उनले भने, ‘हामी कानुन पालन गर्ने जिम्मेवार नागरिक हौं, त्यसैले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।’ शिक्षामन्त्रीको राजीनामा माग्दै पार्टीले सौरभ दास, विजेता दहिया र आशुतोष रांकालाई आधिकारिक प्रवक्ता नियुक्त गरेको छ। उनीहरूले दिल्लीमा पार्टीको पहिलो पत्रकार सम्मेलन गरी आफ्ना मागहरू सार्वजनिक गरेका छन्। जुन ६ मा जन्तरमन्तरमा हुने सीजेपीको प्रदर्शनमा प्रसिद्ध शिक्षाविद् सोनम वाङचुक पनि सहभागी हुन सक्ने बताइएको छ। पत्रकार सम्मेलनमार्फत पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग पुनः दोहोर्याएको छ। सीजेपीका प्रवक्ता सौरभ दासले सीबीएसई अध्यक्ष राहुल सिंह र सचिव हिमांशु गुप्ताको सरुवालाई केवल देखावटी मात्र भएको आरोप लगाएका छन्। उनले शिक्षा व्यवस्थामा जवाफदेहीता कायम गर्नुपर्ने र केवल सरुवा मात्रले समस्या समाधान नहुने पनि स्पष्ट पारेका छन्।






