
१६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद अन्तर्गत एथलेटिक्समा बागमती प्रदेशले सबैभन्दा धेरै ११ स्वर्ण पदक जितेको छ। यस प्रतियोगितामा एथलेटिक्सको २ व्यक्तिगत र १ टिम घटनामा गरी कुल ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित भएका छन्। बागमतीकी भगवती खड्काले कीर्तिमानी दौडसहित सबैभन्दा बढी ४ स्वर्ण पदक हात पारेकी छिन्। २२ जेठ, काठमाडौं। बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सबैभन्दा धेरै ११ स्वर्ण पदक जितेको छ। साथै बागमतीले ७ रजत र ५ कांस्य पदक पनि जितेको छ। एथलेटिक्समा २६ विभिन्न स्पर्धा रहेका थिए।
सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य, लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्य, गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य, कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको छ। स्वर्णविहीन कोशी प्रदेशले २–२ रजत र कांस्य पदक हात पारेको छ भने मधेश प्रदेश पदकविहीन रह्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तिम दिन ८ स्पर्धाको फाइनल भयो। छात्र २०० मिटर दौडमा लुम्बिनीका भगवानदास लोहार सबैभन्दा पहिले पुगे। उनले २२.६४ सेकेन्डमा निर्धारित दूरी पूरा गरे। उक्त स्पर्धामा छात्रा वर्गमा लुम्बिनीकी गरिमा चौधरीले २७.३७ सेकेन्डमा निर्धारित दूरी तय गरी स्वर्ण पदक जितिन्।
छात्र ३००० मिटर दौडमा कर्णालीका अनिल शाहीले ९ मिनेट २०.१ सेकेन्डमा दौड समाप्त गर्दै पहिलो स्थान हासिल गरे। छात्रा वर्गमा भने लुम्बिनीकी अन्जुली मल्लले ११ मिनेट ०३.६ सेकेन्डमा दूरी पुरा गर्दै स्वर्ण पदक हात पारिन्। छात्र ट्रिपलजम्पमा सुदूरपश्चिमका विक्रमनाथ पहिलो भए, जसले १३.५५ मिटर जम्प गरे। छात्रा वर्गमा भने बागमतीकी अनिशा थारुले ११.१० मिटर जम्प गरी पहिलो स्थान लिइन्। ४ गुणा १०० मिटर रिले दौडमा छात्रा वर्गमा बागमती र छात्र वर्गमा लुम्बिनी प्रदेश शीर्ष स्थानमा रह्यो। एथलेटिक्समा २ व्यक्तिगत र १ टिम गरी कुल ३ जुनियर राष्ट्रिय कीर्तिमान स्थापना भए।






