Skip to main content

रेमिट्यान्सले कृषि र उत्पादन क्षेत्रलाई प्रभावित गरिरहेको छ

नेपाल राष्ट्र बैंकको अध्ययनले रेमिट्यान्सका कारण देशमा उपभोग बढेको तर कृषि र उत्पादनमूलक क्षेत्र खुम्चँदै गएको देखाएको छ। अध्ययन अनुसार नेपालमा खराब कर्जा दर सन् २०२२ को १.३ प्रतिशतबाट बढेर जुलाई २०२५ सम्ममा ४.६२ प्रतिशत पुगेको छ। केन्द्रीय बैंकलाई वित्तीय सुशासन कायम गर्न आधुनिक प्रविधि र खराब कर्जा व्यवस्थापन कम्पनी स्थापना गर्न अध्ययनले सुझाव दिएको छ।

२२ जेठ, काठमाडौं। रेमिट्यान्सले अर्थतन्त्रलाई उत्पादनबाट टाढा बनाउने भूमिका खेलेको अध्ययनले देखाएको छ। रेमिट्यान्सका कारण मानिसहरू कृषि र उत्पादनमूलक कामबाट टाढा रहेको अध्ययनले औँल्याएको हो। नेपाल राष्ट्र बैंकका निर्देशक राजनकृष्ण पन्तले ‘आर्थिक स्थायित्व र राष्ट्र: उपलब्धि र आगामी मागदर्शन’ विषयमा गरेको अध्ययनले उत्पादन घट्नुमा रेमिट्यान्सको योगदान देखाएको छ।

अध्ययन अनुसार नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर ४.३ प्रतिशत छ। सन् १९८० र ९० को दशकमा वृद्धिदर उच्च रहँदा पनि पछिल्ला दशकमा द्वन्द्व र अन्य कारणले यसमा उतारचढाव आएको छ। अहिलेको आर्थिक वृद्धिदर मुख्यतः सेवा क्षेत्र र विप्रेषण (रेमिट्यान्स) ले धानेको अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ कि यो वृद्धिदर उपभोगमुखी मात्र रहेको छ।