
२२ जेठ, जुम्ला । यहाँका किसानहरू अहिले कालिमार्सी धानको रोपाइँमा व्यस्त हुन थालेका छन् । सबै आठ स्थानीय तहका किसानहरू अहिले मार्सी धान रोपाइँको काममा व्यस्त छन्। चन्दननाथ नगरपालिकाकी लक्ष्मी कुमाइँले बजारमा माग निकै बढेकाले मार्सीधान खेती प्रति आकर्षण बढेको जानकारी दिइन्। मार्सीधान विशेष गरी जुम्लामा मात्रै उत्पादन हुन्छ।
विश्वकै उच्च स्थलमा पर्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी धानको रोपाइँ सकिएको छ, गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन्। जिल्लाका प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरहरूको परिसरमा रहेको शेरा ज्युलो क्षेत्रमा पनि मार्सी रोपाइँ पूरा भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ। जिल्लामा करिब दुई हजार ८८८ हेक्टरमा धान खेती गरिन्छ।
त्यस मध्ये करिब एक हजार ६८ हेक्टरमा जुम्ली मार्सी उत्पादन भइरहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। गत वर्ष कात्तिकदेखि फागुन मसान्तसम्म करिब १७५ मेट्रिक टन जुम्ली मार्सीधान चामल जिल्ला बाहिर बिक्री भई तीन करोड ५० लाख रुपैयाँ आम्दानी भएको उनले बताए। परम्परागत रूपमा निरन्तर हुँदै आएको जुम्ली मार्सीधान उत्पादनमा प्रविधिद्वारा सुधार गर्न सकिए यसको उपलब्धिमूलक बन्ने उनले विश्वास व्यक्त गरे। पछिल्लो समय कृषि अनुसन्धान केन्द्रले पनि जुम्ली मार्सीमा अनुसन्धान गरिरहेको छ। केन्द्रले चन्दननाथ–१ र ३ जातका धान रोप्न किसानलाई सिफारिस गरेको छ। यस्तै, अनुसन्धानबाट मार्सी–१८, २० र २२ जातका धान सिफारिस गर्न तयारी भइरहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताए।






