Skip to main content

दमक खोलामा बोरा भित्र शव फेला परेपछि अभियुक्त पक्राउ

२२ जेठ, काठमाडौं । झापाको दमकमा एक युवतीको हत्या गरी मेटेर बोरा भित्र राखेर खोलामा फालिएको घटनामा प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार राति अभियुक्त पक्राउ परेको जानकारी दिएका छन् । दमक नगरपालिका–१० अन्तर्गत रतुवामाई खोलाको पुलमुनि जेठ १६ गते सेतो बोरा भित्र शव पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो । यो शव दमक–८ बसन्त टोलकी २१ वर्षीय रोमा (रमा) तिवारीको रहेको पुष्टि गरिएको छ । उनको शव आफ्नै बुवा नारायण तिवारीले पनि सनाखत गरेका छन् ।

शव फेला परेपछि कोशी प्रदेश प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले अनुसन्धान थालेको थियो र अनुसन्धानबाट अभियुक्त पत्ता लागेको छ । प्रहरीले घटनास्थलको सूक्ष्म निगरानी, प्राविधिक विश्लेषण र त्यहाँका सीसीटीभी फुटेजहरूको अध्ययन गरी अभियुक्त पहिचान गरेको जानकारी दिएको छ । सोही अनुसार अभियुक्त भारतको बिहार प्रदेश अररिया जिल्लाका ३४ वर्षीय राकेशकुमार पण्डित रहेको खुलेको छ । उनी दमक नगरपालिका–५ मा डेरा गरी टाइल्स मिस्त्रीको रूपमा कार्यरत रहेको उल्लेख गरिएको छ । बिहीबार राति ११ बजे उनी कोठाबाटै पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अभियुक्त पण्डितले हत्या गरेको स्वीकार गरेका छन् । उनले पैसा सम्बन्धी विवादपछि झगडा हुँदा हत्या भएको बताएको छ । प्रहरीले मृतक रोमाले लगाएको टी–सर्ट, पाइन्ट, जुत्ता र मृतकलाई लिएर गएको मोटरसाइकल पनि बरामद गरेको छ।