Skip to main content

अन्डाको मूल्य फेरि बढ्यो, क्रेटको कति?

नेपाल लेयर्स कुखुरापालक संघले शनिबारदेखि लागू हुने गरी सबै आकारका अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको छ। नयाँ मूल्य अनुसार एक्सएल अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो ५ सय ४५ र मिडियम अन्डा ५ सय १५ रुपैयाँ कायम भएको छ। किसानको फार्म समर्थन मूल्य बढे पनि उपभोक्ताले किन्ने अन्डाको खुद्रा मूल्य भने प्रतिगोटा २५ रुपैयाँ नै यथावत छ।

२२ जेठ, काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ। यसअघि १२ जेठदेखि लागु हुने गरी मूल्य निर्धारण गरेको संघले ११ दिनमै मूल्य परिमार्जन गर्दै भोलि शनिबारदेखि लागु हुने गरी नयाँ मूल्य तोकेको हो। आज शुक्रबार काठमाडौंमा बसेको उत्पादकहरूको भौतिक तथा भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको मूल्य बढाउने निर्णय गरेको हो।

संघको नयाँ निर्णय अनुसार सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ। एक क्रेटमा ३० गोटा अन्डा हुन्छ। अब फार्ममा ‘एक्सएल’ अन्डाको मूल्य प्रतिक्रेट ५ सय ६० रुपैयाँ पुगेको छ, जसको मूल्य यसअघि ५ सय ४५ थियो। त्यसैगरी यसअघि प्रतिक्रेट ५ सय ३० रहेको ठूलो अन्डाको मूल्य बढेर ५ सय ४५ रुपैयाँ कायम भएको छ। मिडियम अन्डाको मूल्य पनि प्रतिक्रेट ५ सयबाट बढेर ५ सय १५ रुपैयाँ पुगेको छ। सानो अन्डाको हकमा भने यसअघि प्रतिक्रेट ४ सय रुपैयाँ तोकिएकोमा अहिले सिधै प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ।

किसानको फार्म समर्थन मूल्य बढे पनि उपभोक्ताले किन्ने खुद्रा मूल्य भने यथावत छ। संघका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ नै कायम छ।