
नेपाल उद्योग वाणिज्य महासंघ र श्रीलङ्काको सिलन चेम्बर अफ कमर्सबीच व्यावसायिक लगानी प्रवर्द्धन गर्नका लागि छलफल सम्पन्न भएको छ। महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले जलविद्युत् तथा जडीबुटी क्षेत्रमा श्रीलङ्काली व्यवसायीलाई लगानी गर्न आग्रह गरे। सिलन चेम्बरका डेपुटी सेक्रेटरी जनरल अलेका परेराले नेपालमा पर्यटन पूर्वाधार, जलविद्युत् र जडीबुटी उद्योगमा लगानी गर्न तयार रहेको जानकारी गराए। २२ जेठ, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र श्रीलङ्काको सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको हो। महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा भएको व्यावसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीहरूले लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल गरेका थिए। उक्त बैठकमा सिलन चेम्बरका उद्योगीहरूले नेपालमा लगानी गर्न तयार रहेको बताएका छन्।
कार्यक्रममा नेपाली उद्योग व्यवसायीको प्रतिनिधित्व गर्दै महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा तत्काल ४० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने सम्भावना रहेको र सरकारले यसलाई स्वागत गरेको बताए। नेपालमा अहिले करिब दुई तिहाइ बहुमतको स्थिर सरकार रहेको र विदेशी लगानी प्रवर्द्धनका लागि सहजीकरण भइरहेको जानकारी दिए। साथै, सरकारले वैदेशिक लगानीका लागि एकद्वार नीति अपनाएको पनि उल्लेख गरे। उनले श्रीलङ्काजस्तै नेपालमा पनि जैविक जडीबुटी उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्रशस्त रहेको भन्दै श्रीलङ्काली उद्योगीलाई सोही अनुसार उद्योग स्थापना गर्न आग्रह गरे। हाल नेपालले सस्तो मूल्यमा जडीबुटी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ निर्यात गरिरहेको हुँदा अब प्रशोधन गरेर वितरण गरी लाभ लिन श्रीलङ्काली व्यवसायीसँग सहकार्य गर्न आग्रह गरे।
सरकारले जलविद्युत क्षेत्रमा लगानी प्रवर्द्धनका लागि सहज नीति बनाएको भन्दै उनले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट श्रीलङ्काका उद्योगी व्यवसायीलाई नेपालमा सहज रुपमा लगानी गर्न सहजीकरण गरिनेछ। यदि तपाईंहरू नेपालमा ठूलो मात्रामा लगानी गर्नुहुन्छ भने हामी सरकारसँग समन्वय गरी सहजीकरण गर्ने प्रयास गर्नेछौँ।’ श्रीलङ्का स्थित नेपाली दूतावासका फर्स्ट सेक्रेटरी सागर भण्डारीले पनि स्थायी सरकार रहेकाले लगानीका लागि अनुकूल वातावरण रहेको बताए र जलविद्युत् क्षेत्रमा उच्च सम्भावना देखाउँदै लगानी गर्न आग्रह गरे। कार्यक्रममा सिलन चेम्बरका डेपुटी सेक्रेटरी जनरल अलेका परेराले नेपालमा पर्यटन पूर्वाधार, जलविद्युत् र जडीबुटी उद्योगमा श्रीलङ्काली उद्योगी लगानी गर्न तयार रहेको उल्लेख गरे। उनीहरूले जडीबुटी उद्योगमा श्रीलङ्का अग्रसर रहेको र नेपालमा पनि पर्याप्त कच्चा पदार्थ उपलब्ध भएकाले उद्योग स्थापना गर्न इच्छुक रहेको बताए। साथै, नेपालमा श्रीलङ्काजस्तै पर्यटन उद्योगको सम्भावना रहेको भन्दै नेपाल सरकारले सहजीकरण गरेमा ठूलो लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त छलफलमा श्रीलङ्काका उद्योगीहरूले नेपालको जलविद्युत् क्षेत्रमा पनि लगानी गर्ने रुचि देखाएका थिए।






