
काठमाडौंमा २७ देशका ६०० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हिमालयन ट्राभल मार्टको छैटौं संस्करण सम्पन्न भएको छ। पाटा नेपाल च्याप्टरद्वारा आयोजित यस कार्यक्रममा नेपाललाई हिमालयको प्रवेशद्वार तथा पर्यटन सहकार्यको प्रमुख केन्द्रको रूपमा स्थापित गरिएको छ। पाटा नेपालका अध्यक्ष खेम लकाईले मार्केटले पर्यटन विकास र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए।
एचटीएम २०२६ को छैटौं संस्करण २२ जेठदेखि २४ जेठसम्म काठमाडौंमा आयोजना गरिएको थियो। यस कार्यक्रममा ७५ अन्तर्राष्ट्रिय क्रेता कम्पनीका प्रतिनिधि, ८० भन्दा बढी बिक्रेता र प्रदर्शक संस्था तथा नेपालसहित विभिन्न देशका पर्यटन सरोकारवाला गरी १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीले भाग लिए। पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स र विभिन्न साझेदार संस्थासँगको सहकार्यमा यस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
कार्यक्रमअन्तर्गत व्यवसाय–व्यवसाय (बीटूबी) बैठक, विचार नेतृत्व सत्र, गन्तव्य अनुभव कार्यक्रम, नेटवर्किङ कार्यक्रम र सांस्कृतिक प्रस्तुति समावेश थिए। यी गतिविधिहरूले नवप्रवर्तन, दिगोपना, उत्थानशीलता र सहकार्यलाई नेपाल तथा विश्व पर्यटन विकासका प्रमुख आधारस्तम्भका रूपमा प्रस्तुत गरेका थिए। समापन समारोहमा नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐयरले नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्याइरहेका अन्तर्राष्ट्रिय प्रतिनिधि र साझेदारहरूलाई आभार व्यक्त गरे।






