
आठवटा विश्वविद्यालयका उपकुलपतिको सिफारिश समितिले उम्मेदवारहरूको अल्पसूची सार्वजनिक गरेको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरूमाथि २०८३ जेठ २५ गतेभित्र राय सुझाव दिन सकिने छ। २२ जेठ, काठमाडौं। आठ सरकारी विश्वविद्यालयका उपकुलपतिको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गरिएको हो। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिको उम्मेदवारहरूको सर्टलिस्ट सार्वजनिक गरिएको हो।
उपकुलपति छनोट गर्न गठित सिफारिश समितिले शुक्रबार उक्त सूची सार्वजनिक गरेको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरूका विषयमा २०८३ जेठ २५ गतेभित्र सुझाव र राय दिन सकिने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ गरी कुल २१८ जनाले आवेदन दिएका थिए।
बिज्ञहरूद्वारा प्रदान गरिएको मूल्याङ्कन नम्बरको आधारमा सर्टलिस्ट तयार गरिएको हो। गत २५ वैशाखमा १० दिनको समय दिई नयाँ उपकुलपतिका लागि खुला आवेदन आव्हान गरिएको थियो। अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन प्रक्रिया अघि बढाइएको हो। विश्वविद्यालयका कुलपति बालेन शाहले उपकुलपतिका नाम सिफारिस गर्न शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिश समिति गठन गरेका थिए। उक्त समितिले विज्ञको नेतृत्वमा एउटा उपसमिति बनाएर विज्ञ द्वारा दिइएको नम्बरको आधारमा सर्टलिस्ट तयार पारेको हो।






