
२३ जेठ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको प्रथम अधिवेशनबाट सभापतिमा यदुनाथ अधिकारी एक मतको अन्तरले निर्वाचित भएका छन्। पोखरामा शनिबार सम्पन्न अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी विजयी बनेका हुन्। अधिकारीले ११५ मत प्राप्त गरे भने न्यौपानेले ११४ मत ल्याए। कुल २३३ मत खसेको थियो, जसमा ४ जनाले कसैलाई पनि मत दिएनन्। बाँकी २९० मत सबै खसेको थियो। यदुनाथ अधिकारी यसअघि पनि कास्की सभापति थिए र माओवादी, एमाले लगायतका पार्टीहरू हुँदै रास्वपामा जिल्ला सभापति चयन भएका थिए। उनी पोखराका घरजग्गा, पानी, रिसोर्ट लगायतका व्यवसायी हुन्। उनी कास्की–३ बाट २०८२ फागुन २१ गते चुनावका लागि उम्मेदवारका आकांक्षी थिए,तर टिकट भने बिना गुरुङले प्राप्त गरिन् र चुनाव जित्न सफल भइन्।
सचिव पदमा टेकराज सापकोटालाई हराउँदै विश्वराज पौडेल विजयी भए। सापकोटाले १२२ मत प्राप्त गरे भने विश्वराजले १०६ मत ल्याए। विश्वराज यसअघि कास्की क्षेत्र नम्बर ३ संयोजक थिए र विवेकशील साझा पार्टी हुँदै रास्वपामा सुरुदेखि नै संलग्न छन्। अध्यक्ष र सचिवबाहेक अन्य पदाधिकारी र सदस्यहरूको चयन सर्वसम्मतिले भएको छ। उपसभापतिमा चीनबहादुर गुरुङ, सहसचिवमा सुजन बस्ताकोटी चयन भएका छन् भने कोषाध्यक्ष पछि मनोनित गरिने प्रदेश महासचिव नविन त्रिपाठीले जानकारी दिए। सदस्यहरूमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी तथा दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध चयन भएकी छन्। कास्कीका ५ स्थानीय तहका सभापतिहरू सदस्य पदमा रहने व्यवस्था गरिएको छ।






