
नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा शनिबार उपाधि जित्दै टोली च्याम्पियन भएको छ। बाघ भैरवले समग्रमा ७ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको हो। प्रतियोगिता मित्रपार्क स्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा सम्पन्न भएको थियो।
प्रतियोगितामा भारतले ६ स्वर्ण, ७ रजत र २३ कांस्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने नेपालकै ठैला डोजोले ४ स्वर्ण र १ कांस्यसहित तेस्रो स्थानमा रहे। पुरुषतर्फ अरनिको डोजोका रोशन खत्री र महिलातर्फ चिल्ड्रेन मोडेल माविकी अयुष्मा मगर उत्कृष्ट खेलाडी घोषित भएका छन्।
विजेतालाई काठमाडौं महानगरपालिका प्रवक्ता र वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक टेक्सास इन्टरनेसनल कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेल लगायतले पुरस्कार वितरण गरेका छन्। सो अवसरमा काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडा र समाजसेवी सुनिल शाहीलाई पनि सम्मान गरिएको थियो।
दुई दिनसम्म चलेको प्रतियोगितामा नेपालबाट २३२ र भारतबाट २२ गरी जम्मा २५४ खेलाडीले २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जानकारी दिएका छन्।






