Skip to main content

मोरङमा विवादविहीन अधिवेशन, सुनसरीमा हातापाइ – राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन

२३ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुनसरी जिल्ला अधिवेशनमा विवाद उत्पन्न भएको छ भने मोरङमा सामान्य रूपमा अधिवेशन सम्पन्न भएको छ। मोरङमा नयाँ नेतृत्व चयनका लागि भोटिङपछि मतगणना जारी रहेको छ। यहाँ उपसभापतिमा विमला घिमिरे निर्विरोध निर्वाचित भएकी छिन्। सभापतिका लागि निवर्तमान सभापति भरत कँडेलले कोषराज निरौला र सागर फुयालबाट चुनौती पाएका छन्।

यसैबीच, सुनसरीको लौकही सिटी हलमा भएको प्रथम सुनसरी जिल्ला अधिवेशनमा हातापाइ भएको छ। नयाँ युवा तथा रुष्ट कार्यकर्तालाई आयोजकले हटाउन खोज्दा विवाद सुरु भएको थियो। अधिवेशनमा प्रतिबद्ध प्रतिनिधिलाई हटाइएको विरोधमा केही युवाहरूले धर्ना बसेका थिए। उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि विवाद उग्र भएको थियो। सो क्रममा दुई पक्षबीच हातापाइ भएको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले ‘सामान्य विवाद भएको छ, ठूलो कुरा होइन,’ भनी अब स्थिति सामान्य रहेको र मतदान जारी रहेको बताएका छन्। सुनसरी जिल्ला सभापतिमा सागर दाहाल, मोहन निरौला, चक्रबहादुर विष्ट र कृष्ण रौनियारबीच चुनावी प्रतिस्पर्धा छ।