
मोरङमा विवादरहित अधिवेशन, सुनसरीमा झडप – राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन
२३ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुनसरी जिल्ला अधिवेशनमा विवाद उत्पन्न हुँदा मोरङमा सामान्य रूपमा अधिवेशन सम्पन्न भएको छ। मोरङमा नयाँ नेतृत्व चयनका लागि भोटिङपछि मतगणना जारी छ। यहाँ उपसभापतिमा विमला घिमिरे निर्विरोध निर्वाचित भएकी छिन्। सभापतिका लागि निवर्तमान सभापति भरत कँडेललाई कोषराज निरौला र सागर फुयालले चुनौती दिएका छन्।
यसैबीच, सुनसरीको लौकही सिटी हलमा भएको प्रथम सुनसरी जिल्ला अधिवेशनमा झडप भएको छ। नयाँ युवा तथा रुष्ट कार्यकर्तालाई आयोजकले हटाउन खोज्दा विवाद सुरु भएको थियो। अधिवेशनमा प्रतिबद्ध प्रतिनिधिलाई हटाइएको विरोधमा केही युवाहरूले धर्ना बसेका थिए। उनीहरूलाई हटाएर निर्वाचन प्रक्रिया सुरु गरेपछि विवाद तीव्र भएको थियो। सो क्रममा दुई पक्षबीच झडप भएको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले ‘सामान्य विवाद भएको छ, ठूलो कुरा होइन,’ भनी अब स्थिति सामान्य रहेको र मतदान जारी रहेको बताएका छन्। सुनसरी जिल्ला सभापतिमा सागर दाहाल, मोहन निरौला, चक्रबहादुर विष्ट र कृष्ण रौनियारबीच चुनावी प्रतिस्पर्धा चलिरहेको छ।