Skip to main content

पुरुष र महिला राष्ट्रिय सुटिङ प्रतियोगिता सुरु

नेपाल सुटिङ संघको आयोजनामा सातदोबाटोमा २७ औं पुरुष तथा २६ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता तीन दिनसम्म चल्नेछ र सोमबार सम्पन्न हुनेछ। यस प्रतियोगितामा १० मिटर एयर राइफल र पेस्तोल विधामा ६ स्वर्ण पदकका लागि ६२ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

२३ जेठ, काठमाडौं। नेपाल सुटिङ संघले २७ औं पुरुष तथा २६ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित सुटिङ रेन्जमा सुरु गरेको हो। प्रतियोगितामा पुरुष र महिला १० मिटर एयर राइफल र पेस्तोलको व्यक्तिगत र मिक्स टिममा गरी ६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ। आयोजक संघका महासचिव प्रदीप खातीले जानकारी दिनुभएको छ।

प्रतियोगितामा पुरुषतर्फ ३४ तथा महिलातर्फ २८ खेलाडी सहभागी छन्। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमका बीच गर्नुभएको थियो। उद्घाटन समारोहमा आईएसएसएफ र एएससीको डेभलप्मेन्ट फन्डबाट प्राप्त खेल सामग्री पनि हस्तान्तरण गरिएको थियो। तीन दिने प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।
तस्बिर : ग्लोबल फोटो बैंक