यु-१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिता सुरु, मिक्स इभेन्टमा एभरेष्ट स्कुलले जित्यो स्वर्ण पदक

एभरेष्ट इङलिस स्कुलले यु-१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिताको मिक्स टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। प्रतियोगितामा ३०.१५ अंकसहित विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय दोस्रो र २८.५ अंकसहित एसओएस सानोथिमि तेस्रो भएका छन्। दुईदिने प्रतियोगितामा ६२ विद्यालयका १९६ खेलाडी सहभागी छन्। २३ जेठ, काठमाडौं।
एभरेष्ट इङलिस स्कुलले यु–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिताको मिक्स टिम इभेन्टमा शनिबार स्वर्ण पदक जितेको छ। नेपाल जिम्न्याष्टिक संघ र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा एभरेष्टले कुल ३५.९ अंक संकलन गर्यो। एभरेष्टले केटीहरुबाट २९.७५ अंक र केटाहरुबाट ६.१५ अंक प्राप्त गरेको थियो।
त्यसैगरी, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ३०.१५ अंकसहित दोस्रो स्थानमा रहँदा, एसओएस, सानोथिमि २८.५ अंकका साथ तेस्रो भए। राष्ट्रिय खेलकुद परिषद् हाताभित्र रहेको सेमि कभर्ड हलमा जारी दुईदिने प्रतियोगितामा विभागीय टोलीसहित विभिन्न ६२ विद्यालयका १९६ खेलाडी सहभागी भएका छन्, आयोजक एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाए। फ्लोर इभेन्टमा मात्र प्रतिस्पर्धा हुने यस प्रतियोगितामा पुरुष र महिलाहरु दुबैका लागि टिम र व्यक्तिगत गरी चारवटा स्पर्धा हुनेछन्। प्रतियोगिताको शनिबार बिहान राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।






