Skip to main content

रास्वपा नेता परियारका भनाइ

२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले आफ्नो पार्टी र नेताकार्यकर्तालाई भुइँ र भाँडोमा हुने छुट नरहेको बताएका छन्। शनिबार रास्वपा सुनसरीको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सचेतक परियारले रास्वपा नेपाली जनताको वास्तविक सेवक रहेको दाबी गरेका छन्। ‘रास्वपाले नै देशको भाग्य र भविष्य निर्माण गर्दछ भन्ने सोच र व्यवहारसहित जनताको भरोसायुक्त पार्टीका रूपमा लाग्न सबैसँग म आग्रह गर्दछु,’ उनले भने।

सम्बोधनका क्रममा केही दिनअगाडि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा दिएको सम्बोधन उनले स्मरण गरे। ‘जसरी संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन माओवादी पार्टी ठूलो दल बन्दै जनताको सेवा गर्नुको सट्टा भुइँमा न भाँडोमा भएर यो हालतमा आयौँ भन्नुभएको थियो,’ उनले भने, ‘त्यस्तो काम गर्ने छुट हामीलाई छैन र रास्वपाका कुनै कार्यकर्ताले त्यो सोच कदापि राख्नुहुँदैन।’ देशका वास्तविक समस्या र आवश्यकतालाई शिरमा राखेर केही गर्नुपर्छ र गर्छौँ भन्ने भावनाका साथ जनतामा जान उनले आग्रह गरे। –रासस