Skip to main content

दिल्लीमा भारतीय विदेश मन्त्री जयशंकरसँग परराष्ट्र मन्त्री खनालको भेटवार्ता

परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री डा. एस जयशंकरबीच पारस्परिक हितका विभिन्न विषयमा केन्द्रित भएर भेटवार्ता सम्पन्न भएको छ। भारतीय विदेश मन्त्री डा. जयशंकरको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री खनाल २४ जेठसम्म भ्रमणमा रहनेछन्। बैठकमा दुई देशबीचको व्यापार, लगानी, सम्पर्क सञ्जाल र ऊर्जा क्षेत्रलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको छ।

२३ जेठ, काठमाडौं। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री डा. एस जयशंकरबीच भेटवार्ता आयोजना गरिएको छ। हाल दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता जारी रहेको छ। भारतीय विदेश मन्त्री डा. जयशंकरले आफ्नो सामाजिक सञ्जालमा नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रारम्भिक मन्तव्य साझा पनि गरेका छन्।

परराष्ट्र मन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो (शुक्रबार) भारत पुगेका थिए। उनले भारतीय विदेश मन्त्री डा. जयशंकरको निमन्त्रणामा भारत भ्रमण गरिरहेका छन् र २४ जेठ (भोली) सम्म भारतमै रहने निर्धारित छ। यसअघि परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार त्यस बैठकमा नेपाल र भारतबीचका पारस्परिक हितका बहुआयामिक विषयहरूमा छलफल हुने छ। विशेषगरी दुई देशबीच व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा ध्यान केन्द्रित हुनेछ।