Skip to main content

सप्तरीको गम्हरिया पोखरी सौन्दर्यीकरण ठेक्का रद्द गर्ने कार्यविधि सुरु

सप्तरीको खडक नगरपालिकाले गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजना अलपत्र परेको भन्दै निर्माण व्यवसायीसँग ७ दिनभित्र स्पष्टीकरण मागेको छ। दोस्रो पटक म्याद थप गर्दा र पेश्की रकम लिँदा पनि रविना ओम गणेशाय जेभीले काम पूरा नगरेपछि नगरपालिकाले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो। नगरपालिकाले गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार नगरी ठेक्का सम्झौता गरेको पाइएको छ। २४ जेठ, सप्तरी।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको छ। नगरपालिकाका अनुसार वडा नं. ६ स्थित गम्हरिया पोखरी सौन्दर्यीकरण कार्यका लागि रविना ओम गणेशाय जेभीसँग ठेक्का सम्झौता भएको थियो। तर, दोस्रो पटक म्याद थप गरिँदा पनि निर्माण कम्पनीले काम पूरा नगरेको, पेश्की रकम लिएर पनि कार्य अघि नबढाएको र लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले निर्माण कार्य सुचारु गर्न र समयमै सम्पन्न गर्न पटक-पटक पत्राचार गरे पनि कम्पनीले काम अघि नबढाएको जनाएको छ। निर्माण सम्पन्न गर्नुपर्ने अवधिको अन्त्य नजिकिदै गर्दा पनि निर्माण व्यवसायीले म्याद थपका लागि नियमानुसार निवेदन नदिएको सूचनामा उल्लेख छ। खड़क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठले जारी गरेको सूचनामा यसलाई ‘अन्तिम ताकेता’ मान्दै तोकिएको अवधिभित्र चित्त बुझ्ने जवाफ नआए ठेक्का सम्झौता रद्द गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिए।