Skip to main content

विश्वकपअघिका मैत्रीपूर्ण खेलमा जर्मनी, पोर्चुगल, इंग्ल्यान्ड र बेल्जियमको शानदार जीत

फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा जर्मनीले अमेरिकालाई २-१ र पोर्चुगलले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेका छन्। इंग्ल्यान्डले न्युजिल्यान्डलाई १-० र बेल्जियमले ट्युनिसियालाई ५-० को फराकिलो अन्तरले हराएका छन्। स्कटल्यान्डले बोलिभियालाई ४-० ले पराजित गर्दा स्विट्जरल्यान्ड र अस्ट्रेलियाले १-१ को बराबरी खेलेका छन्। २४ जेठ, काठमाडौं।

फिफा विश्वकप २०२६ अगाडि भएका मैत्रीपूर्ण खेलहरूमा उपाधि दावेदार टोलीहरूले जित हात पारेका छन्। जर्मनीले सहआयोजक अमेरिका लाई २-१ गोलले पराजित गरेको छ। काइ हाभेर्ट्जले दोस्रो मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। अमेरिकाका एन्टोनी रोबिन्सनले ३७औं मिनेटमा बराबरी गोल फर्काए। तर हाभेर्ट्जकै पासमा लेरॉय सानेले ५७औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाए।

पोर्चुगलले आफ्नै मैदानमा भएको खेलमा चिलीलाई २-१ ले हराएको छ। गोंकालो गुएडेजले ५८औं मिनेटमा गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका थिए। ब्रुनो फर्नान्डेसले ७५औं मिनेटमा थप गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे। चिलीका लुकास चेपेडाले दोस्रो हाफको इन्ज्युरी टाइममा गोल फर्काए। इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध १-० को साँघुरो जीत प्राप्त गरेको छ। कप्तान ह्यारी केनले पहिलो हाफको इन्ज्युरी टाइममा गोल गरेका थिए।

त्यस्तै बेल्जियमले ट्युनिसियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। बेल्जियमका लागि लिआन्ड्रो ट्रोसार्डले २८औं, चार्ल्स डे केटिलाएरले ५३औं, केभिन डे ब्रूयनले ६५औं, डोडी लुकबाकियोले ८५औं र निकोलस रास्किनले ८७औं मिनेटमा गोल गरेका थिए। स्कटल्यान्डले बोलिभियालाई ४-० ले पराजित गरेको छ। स्कटल्यान्डका लागि चे एडम्सले २ तथा लरेन्स सान्कल्यान्ड र स्कट म्याकटोमिनेले १-१ गोल गरेका छन्। स्विट्जरल्यान्डले भने अस्ट्रेलियासँग १-१ को बराबरी खेलेको छ। स्विट्जरल्यान्डका डान एनडोयले १४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर अस्ट्रेलियाका टेटे यङ्गीले ५६औं मिनेटमा बराबरी गोल फर्काए।