कर दर हेरफेरबारे कांग्रेस नेता केसीको टिप्पणी: ‘निरंकुश प्रवृत्तिको स्पष्ट संकेत’

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले आर्थिक विधेयकमा मनपरीगरी कर दरमा हेरफेर गरेकोमा आपत्ति जनाएका छन्। उनले विधेयक संसदमा पेश भइसकेपछि ‘त्रुटि सुधार’को नाममा कर दर परिवर्तन गर्नु संसदीय मर्यादा र नियमावलीको ठाडो उल्लंघन भएको बताएका छन्। सरकार गल्ती स्वीकार्दै विधेयकलाई औपचारिक संशोधनसहित संसदमा पेश गर्नु सम्मानजनक बाटो हुने उनले उल्लेख गरे। २४ जेठ, काठमाडौं।
सरकारले संसदबाट पारित आर्थिक विधेयकमा आफूखुशी संशोधन गरेर कर दरमा मनगढन्ते परिवर्तन गरेको विषयमा केसीले कडा आलोचना गरेका छन्। उनले अर्थमन्त्रीले ‘त्रुटि सुधार’को बहानामा पत्रमार्फत कर दर परिवर्तन गर्नु विधायिकालाई छल्ने र कार्यपालिकाले मनपरी काम गर्नसक्ने खतरा रहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘यो संसदीय नियमावली, मर्यादा तथा विश्वव्यापी प्रचलनको स्पष्ट उल्लंघन हो। यो सार्वभौम संसद्को विशेषाधिकारमाथिको नाङ्गो हस्तक्षेप हो।’
केसीले भनेका छन् कि बजेटजस्तो संवेदनशील मामिलामा सरकारले नियम तोडेर मनमौज गर्न पाउने हो भने संसद्को आवश्यकता के हुन्छ? उनले थप लेखेका छन्, ‘यो निरंकुश प्रवृत्तिको स्पष्ट संकेत हो। यसले संसदीय लोकतन्त्रको मूल्यमान्यतालाई नै धक्का दिएको छ।’ उनले देश निर्वाचित अधिनायकवादी दिशातर्फ उन्मुख भएको स्पष्ट संकेत देखिएको भन्दै यो प्रक्रिया तत्काल रोकिनुपर्ने माग गरेका छन्।






