
२१ वर्षीया उद्यमी कुसुम रेग्मीले काठमाडौंमा ‘थ्रिफ्ट बाइ कुस’ नामक लोकप्रिय सेकेन्ड ह्यान्ड कपडा स्टोर सञ्चालन गरेकी छन्। महिलाहरूको दराजमा थुप्रिएका कपडाहरूको बारेमा सोच्दा, धेरैजसोको जवाफ रोचक हुनसक्छ। किनभने महिलाहरूको दराज लुगाफाटोले भरिएको हुन्छ। कति पुराना, कति नयाँ, र कति त लगाउँदै नलगाएका कपडाहरू हुन्छन्। तर, बजारमा नयाँ लुगा देख्नासाथ महिलाहरूले मन थाम्न सक्दैनन्। लुगामाथि लुगाको थुप्रो भएपछि के गर्ने? यसमा कुसुमले काइदाको तरिका अपनाइन् र सेकेन्ड ह्यान्ड कपडाहरूको थ्रिफ्ट सप सुरु गरिन्।
कुसुमको यो ‘थ्रिफ्ट बाइ कुस’ अहिले काठमाडौंका युवामाझ परिचित नाम बनेको छ। आफ्नै दराजमा थुप्रिएका कपडाहरू बिक्री गर्न उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोबाट यात्रा सुरु भएको हो। विद्यालयमा पढ्दादेखि नै व्यवसायप्रति आकर्षित भएकी कुसुमले कक्षा ११–१२ मा बाबासँग स्टोर खोल्ने कुरा गरिरहन्थिन्। तर त्यतिबेला व्यवसायलाई गम्भीर रूपमा अघि बढाउने सोच भने बनेको थिएन। उनले आफ्नो व्यक्तिगत टिकटक अकाउन्टमा पुराना कपडा बिक्री गर्ने भिडियो पोस्ट गरिन्, जसले अप्रत्याशित रूपमा राम्रो प्रतिक्रिया पायो।
कुसुमका अनुसार थ्रिफ्टको अवधारणाले उनलाई सुरुदेखि नै आकर्षित गर्थ्यो। उच्च गुणस्तरका ब्रान्डेड कपडा सस्तो मूल्यमा पाउन सकिने भएकाले यो अवधारणा मन परेको थियो। उनले विभिन्न देशका सप्लायरबारे अनुसन्धान गर्दै बैंककबाट कपडा आयात गर्ने निर्णय गरिन्। थ्रिफ्ट स्टोरमा रहेका धेरै वस्तु नयाँ वा ब्रान्डका बाँकी स्टक हुन्, जुन प्रयोग नै भएका हुँदैनन्। उनले थ्रिफ्ट व्यवसायलाई केवल व्यापारका रूपमा मात्र हेर्दैनन्, यसलाई वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा लिन्छिन्।
हालका अधिकांश ग्राहक जेन–जेड पुस्ताका युवा छन्। विशेषगरी विद्यालय तथा कलेज अध्ययनरत विद्यार्थीहरू थ्रिफ्ट फेसनप्रति बढी आकर्षित छन्। काठमाडौंबाहिरबाट समेत अनलाइन अर्डर उल्लेख्य मात्रामा आउने गरेको छ। कुसुमले भविष्यमा थप शाखा विस्तार गर्ने सोच राखेकी छन्, तर अहिलेको प्राथमिकता सप्लाई चेन बलियो बनाउने र सेवाको गुणस्तर सुधार गर्ने रहेको छ। सामान्य वार्डरोब सफाइबाट सुरु भएको यो यात्रा अहिले युवा पुस्तालाई दिगो फेसन, पुनः प्रयोग र उद्यमशीलताको नयाँ सन्देश दिने उदाहरण बनेको छ।






