
कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले शनिबार आफ्ना समर्थकका साथ दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा अधिकांश युवाहरू थिए, जसले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका थिए। प्रख्यात वातावरणविद् तथा शिक्षाविद् सोनाम वाङचुक पनि यसमा सहभागी थिए, जो छ महिना लामो जेल सजाय बिताएर गत मार्च महिनामा रिहा भएका थिए। दीपके शनिबार बिहान मात्र अमेरिकाबाट दिल्ली आएका थिए। युवापुस्ताको यो प्रदर्शनलाई विश्वका विभिन्न देशका सञ्चारमाध्यमले महत्त्व दिएका छन् र कतिपयले यसलाई ‘जेन जी’ आन्दोलनको रूपमा अर्थ्याएका छन्।
अमेरिकी मिडिया सीएनएनले कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलनबारे लेखेको छ, “भारतका युवा अब दिक्क भइसकेका छन्। वर्षौँदेखि जाँचमा हुने गरेको अनियमितता, निरन्तरको बेरोजगारी र अवसरहरूको अभावका कारण मानिसहरूको निराशा अब अनलाइन र सडकमा खुला आक्रोशमा परिणत हुँदै छ।” सीएनएनका अनुसार, उत्तरदायित्वको यस्तो माग उठिरहेको छ कि त्यसलाई धेरैले अब बेवास्ता गर्न सक्दैनन्। भारतका प्रधानन्यायाधीश सूर्यकान्तको टिप्पणीका कारण कक्रोच जनता पार्टी बनेको विवरण छ।
फ्रान्स २४ ले “भारतको जेन जी ‘कक्रोच’ पार्टीका समर्थकहरूले पहिलो विरोध प्रदर्शन दिल्लीमा गरेको” उल्लेख गरेको छ। समर्थकहरूले ‘कक्रोचहरू आउँदै छन्, धर्मेन्द्र प्रधान जाँदै छन्’ जस्ता नारा लगाएका थिए। चीनको साउथ चाइना मोर्निङ पोस्टले पनि यस प्रदर्शनलाई प्राथमिकता दिएको छ। अल जजिराले भनेको छ, “भारतको जेन जी ‘कक्रोच अभियान’ ले राजधानीमा पहिलो प्रदर्शन गरेको छ र शिक्षामन्त्रीको राजीनामा माग गरेको छ।”
ब्रिटिश समाचारपत्र ‘द सन्डे गार्डियन’ ले जन्तरमन्तरमा भएको ‘कक्रोच जनता पार्टी’ को पहिलो ठूलो विरोध प्रदर्शनमा करिब २ हजार मानिस मात्र सहभागी भएको उल्लेख गरेको छ। यसले डिजिटल लोकप्रियता र वास्तविक धरातलमा मानिसहरूलाई एकजुट गराउन सक्ने क्षमताबीचको भिन्नता स्पष्ट रूपमा देखाउँदछ। सीजेपीले शनिबारको आन्दोलनपछि ७ दिनभित्र शिक्षामन्त्रीले राजीनामा नदिएमा फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ। अभिजित दीपकेले प्रदर्शनपछि एक्समा लेखेका छन्, “आजको प्रदर्शन ट्रेलर मात्र हो।”






